काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाली कांग्रेसले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । कांग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकले आन्दोलनका कार्यक्रमm सार्वजनिक गरेको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत पुष २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने, माघ ३ गते ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने, माघ ८ गते स्थानीय तहको ६ हजार ७ सय ४३ वटै वडामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
जिल्ला समितिले आफ्नो अनुकुलतामा तथा पार्टीका भातृ तथा सुभेच्छुक संगठनहरुले आ–आफ्नो आवश्यकता र अनुकुलतामा जिल्ला समितिसँग समन्वय गरेर कार्यक्रम गर्ने पनि बैठकले निर्णय गरेको छ ।
त्यसैगरी बैठकले २०७५ कार्तिक २० गते उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गर्नेहरूको समायोजनको निम्ति बनाइएको समायोजन समितिले तयार पारेको प्रतिवेदन बैठकले अनुमोदन गरेको छ । बैठकले क्रियाशिल सदस्यता विवरण २०७७ माघ मसान्त सम्म गरिसक्ने मिति तय गरेको छ ।