काठमाडौं–खोप उत्पादन गर्ने फर्म र बोतलबन्द पानी बेच्ने कम्पनीको स्वामित्व भएका एक चिनियाँ व्यापारी एशियाकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । जङ शान्शानको सम्पत्ति यो वर्ष कुल सात अर्ब डलरले वृद्धि भयो । यससँगै उनी भारतका मुकेश अम्बानी र चीनका ज्याकमाभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् ।
ब्लूमबर्गको बिलीअनेअर इन्डेक्सका अनुसार कुल ७७.८ अर्ब अमेरिकी डलर बराबर सम्पत्तिसहित जङ संसारभरिका धनाढ्य व्यक्तिको सूचीमा ११ औँ स्थानमा पुगेका छन् । उनी कुनै बेला पत्रकारिता, च्याउखेती र स्वास्थ्य क्षेत्रमा पनि संलग्न थिए ।
जङले खोप उत्पादन गर्ने फर्म बेइजिङ वान्ताई बायोलजिकलको सेयर गत एप्रिल महिनामा चीनको स्टक बजारमा सूचीकृत गराएका थिए । तीन महिनापछि बोतल बन्द पानी उत्पादन गर्ने कम्पनी नोङ्फु स्प्रिङ पनि हङ्कङको सेयर बजारमा पुग्यो । त्यसले उनलाई अलिबाबाका संस्थापक ज्याक माभन्दा माथि पु¥याइदियो । ज्याक मा त्यतिबेला चीन र एशियाकै सर्वाधिक धनी व्यक्ति थिए ।
त्यतिबेलादेखि नै नोङ्फु स्प्रिङ हङ्कङको सेयर बजारमा बलियो बनेर बसेको छ । पहिलो चोटि सार्वजनिक भएदेखि अहिलेसम्म त्यसको मूल्य १५५ प्रतिशतले बढेको छ । बेइजिङ बान्ताई बायोलजिकलको सेयरको मूल्य २,००० प्रतिशतभन्दा माथि पुगेको छ ।
उक्त फर्म कोभिड(१९ को खोप बनाउन संलग्न छ । सेयर बजारमा भएको नाटकीय उत्थानले जङलाई एशियाको सर्वाधिक व्यक्तिका रूपमा स्थापित गरिदिएको छ । ब्लूमबर्गका अनुसार यो इतिहासमै सर्वाधिक सम्पत्ति सङ्कलन भएका घटनामध्ये एक हो ।
अमेजन कम्पनीका संस्थापक जेफ बेजोससहित धेरै धनाढ्यहरू कोरोनाभाइरस महामारीका बेला अझ धनी भएका छन् । भारतका मुकेश अम्बानीको सम्पत्ति पनि यो अवधिमा १८.३ अर्ब डलरले बढेर ७६.९ अर्ब डलर पुगेको छ । उनले आफ्नो व्यापारिक प्रतिष्ठान रिलायन्स इन्डस्ट्रीजलाई प्रविधि र ई(कमर्सको क्षेत्रमा रूपान्तरित गरेका छन् ।
यो वर्षको सुरुतिर फेसबुकले भारतको मोबाइल इन्टरनेट कम्पनी रिलायन्स जिओमा ५.७ अर्ब डलर लगानी गर्न लागेको बताएको थियो । उक्त कम्पनी अम्बानीको स्वामित्वमा छ । तर ज्याक माको सम्पत्ति अक्टोबरमा ६१.७ अर्ब डलरबाट घटेर ५१.२ अर्ब डलर पुगेको छ । उनको कम्पनी अलिबाबा केही समययता चीनका नियामक निकायहरूको निगरानीमा परेको छ ।
उससँग सम्बद्ध एन्ट ग्रूप गत नोभेम्बर महिनामा स्टक बजारमा सूचीकृत भएको भए पनि एकलौटी व्यवहार गरेको आशङ्कामा अलिबाबामाथि छानबिन भइरहेको छ । चीनका अधिकांश अर्बपतिहरू प्रविधिको क्षेत्रसँग सम्बन्धित छन् । तर ह्वावेई, टिकटक र वीच्याटका विषयमा चीन र अमेरिकाबीच द्वन्द्व बढ्दा केही चिनियाँ प्रविधि कम्पनीको सेयरको मूल्य प्रभावित पनि भएको छ । बीबीसी