काठमाण्डौ–नेपाल विद्युत प्राधिकरणले केही दिनदेखि भइरहेको विद्युत आपूर्तिमा अवरोध लोडसेडिङ नभएको प्रष्ट पारेको छ । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी खबरहरुमा आएजस्तोलोडसेडिङ नभएको र लोडसेडिङ गर्नुपर्ने अवस्था समेत नरहेको भन्दै भ्रमबाट मुक्त हुन आह्वान गरेका छन् ।
प्राधिकरणबाट कुलमान घिसिङको बहिर्गमनपछि पटक पटक विद्युत आपूर्ति अवरुद्ध हुन थालेपछि जनस्तरबाट पुनः लोडसेडिङ भएको भन्दै विरोधका स्वरहरु गुञ्जिन थालेका थिए । प्राधिकरणले पुनः अघोषित लोडसेडिङ गरेको भन्दै सर्वत्र चिन्ता व्यक्ति हुन थालेपछि त्यसको खण्डन गर्दै प्रवक्ता तिम्सिनाले विज्ञप्ति जारी गरेका हुन् । प्राधिकरणका प्रवक्ता तिम्सिनाले अहिले कुनै पनि खालको लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको प्रष्ट पारेका छन् ।
उनले राष्ट्रिय विद्युत् प्राणालीमा भारवहन भन्दा बढी विद्युत् प्रवाह हुँदा केही समय विद्युत् प्रसारण तथा आपूर्तिमा अवरोध मात्र भएको र यो लोडसेडिङ नभएको दाबी गरेका छन् ।
प्राधिकरणले प्रसारण प्राणालीमा अधिक भार हुँदा, पोलहरु सार्ने, ट्रान्सफर्मर प्रतिस्थापन गर्ने, वितरण प्रणालीमा पुराना संरचना मर्मतसम्भार गर्ने कार्य हुँदा र प्राकृतिक वा आकस्मिक समस्या हुँदा विद्युत् प्रसारण रोकिन सक्ने भन्दै यसलाई लोडसेडिङ भन्न नमिल्ने विज्ञप्तिमा उल्लेख छ।