काठमाडौं–नेकपा विभाजन भएपछि प्रधानमन्त्री केपी शर्मा ओली समूह र प्रचण्ड–माधव नेपाल समूहले पार्टीको स्वामित्वसँगै बैंक तथा वित्तीय संस्थामा रहेको रकम आफ्नो पक्षमा पार्न हानथाप सुरु गरेका छन् ।
पार्टी टुक्रिएसँगै जिल्ला,जिल्लामा पार्टी कार्यालय कब्जा गर्न झडपसमेत भैरहेको अवस्थामा केन्द्रीय नेतृत्व पनि मुख्यालयको सम्पत्ति आफ्नो पक्षमा पार्न प्रयास गरिरहेका छन् । साविक नेकपा एमाले र नेकपा माओवादीका नाममा भएको सम्पत्ति करिब तीन अर्ब रुपैयाँको रहेको छ ।
नेकपा र तत्कालीन नेकपा एमालेको नाममा रहेका बैंक तथा वित्तीय संस्थाहरुको खाता रोक्का गर्न प्रचण्ड–माधव नेपाल समूहले पत्राचार गरेका छन् ।
तत्कालीन एमालेको बैंक खाता विष्णु रिमाल, कृष्णगोपाल श्रेष्ठ र खेम पौडेलको नाममा संचालित रहेको छ । चेकमा तीनजनाको हस्ताक्षर चल्नेमा रिमाल र श्रेष्ठ ओली नेतृत्वको नेकपाका नेता हुन् भने पौडेल कर्मचारी हुन् । पार्टी एकता भए पनि तत्कालीन एमाले र माओवादी नामका खाता अलग–अलग संचालनमा थिए ।
प्रचण्ड–माधव पक्षका कार्यालय सचिव श्रीराम ढकालले दुवै अध्यक्ष प्रचण्ड र माधव नेपालले हस्ताक्षर गरेर पत्राचार भएको जानकारी दिए । पार्टीको चल अचल सम्पत्ति एमालेकै नाममा रहेको र एमालेको निर्वाचित अध्यक्ष केपी ओली भएकाले अर्को पक्षको हक नलाग्ने ओली पक्षको दाबी छ ।
नेकपा विभाजित भएपछि चुनाव चिन्ह आफ्नो पक्षमा पार्नेमात्र होइन सम्पत्ति र बैंकमा भएको रकम आफ्नो पक्षमा पार्न कसरत भैरहेको छ । नेकपाको सम्पत्ति २०७५ असारको तथ्यांकअनुसार तीन अर्बभन्दा बढी देखिएको थियो । काठमाडौंमै नेकपाको करोडौं मूल्यका पाँच वटा भवन छन् । भारतको नयाँ दिल्लीमा पनि एक करोड मूल्य पर्ने जग्गा छ । पार्टी एकीकरण हुँदा तयार पारिएको एक लगत अनुसार, तत्कालिन एमालेसँग २ अर्ब रुपैयाँ बराबरको सम्पति थियो भने माओवादीतर्फ कम्तिमा एक अर्बको सम्पति थियो ।
दुई वर्षअघि सम्पत्ति छानबिनका क्रममा तयार पारिएको विवरणमा एकीकृत माओवादी ऋणमा देखिएको थियो भने एमालेको आर्थिक अवस्था मबजुत देखिएको थियो ।