काठमाण्डौ- गत शुक्रबार नेपाल धितोपत्र बोर्डले शेयर खरिद विक्रिमा ब्रोकरहरुले लिँदै आएको कमिसन घटाएपछि असन्तुष्ट बनेका ब्रोकर ब्यवसायिहरुले आज बोर्डमा खेराउ गरेका छन ।
आइतवार विहान १० बजे बोर्ड पुगेका करिव ५० ब्यवसायिहरुले कमिसन कटौतीकाविरुद्ध ज्ञापनपत्र समेत पेश गरेका छन । उनीहरुले बोर्डसँग करिव दुई घण्टा बार्तासमेत गरेका थिए तर बार्ता कुनै निष्कर्षमा भने पुगेको छैन ।
हाल कायम नयाँ ब्रोकर कमिसनले ब्रोकर व्यवसाय नै धान्न मुश्किल पर्ने र दीर्घकालसम्म सस्टेन गर्न गाह्रो पर्ने भएकाले ५० ब्रोकर कम्पनीका सदस्यहरुले नै बोर्डसमक्ष ज्ञापनपत्र बुझाए ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारमा ब्रोकर कमिसन कटौती गर्दा नियामकको चाहिँ कमिसन कटौती नगरी ब्रोकर कमिसन मात्र घटाएका कारण धितोपत्र बोर्ड घेराउ गर्न बाध्य भएको एक ब्रोकरले बताए । अहिले पनि ब्रोकरको लागत घट्नुका सट्टा बढिरहेको जिकिर गर्दैै नियामकले आफ्नो कमिसन नघटाएकाले बाध्य भएर विरोध जनाएको ती ब्रोकरको भनाइ छ ।
आज पुस १२ गते आइतबारदेखि नै नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन न्यूनतम ०।२७ प्रतिशतदेखि अधिकतम ०।४० प्रतिशत लागू गरेको छ ।