शेयर ब्रोकर कमिसन घट्यो, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं–शेयर कारोबार गर्नेलाई खुशीको खबर छ । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाएको छ । शेयर किनबेच गर्दा ब्रोकर कम्पनीले लगानीकर्ताहरुसँग लिँदै आएको कमिशन घटाउने निर्णय गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले अघिल्लो हप्ता कमिशन घटाउन निर्देशन दिएपछि बोर्डले ब्रोकरले लिँदै आएको कमिशन दर ३३ प्रतिशतले घटाएको हो ।

हालसम्म सेयर किनबेच गर्दा लगानीकर्ता ब्रोकरले लगानीकर्ताहरुबाट ०.४० प्रतिशतदेखि ०.६ प्रतिशतसम्म कमिशन लिँदै आएकोमा अब अधिकतम कमिशन यसमा ३३ प्रतिशतले घटेर ०.२६८ देखि ०.४०२ प्रतिशतमा झरेको धितो पत्र बोर्डले जनाएको छ ।

कमिशन घटाएपछि अब न्यूनतम ०.२७ प्रतिशतदेखि बढीमा ०.४० प्रतिशतसम्म कमिशन लाग्ने छ । अर्थात् ५० हजार रुपैयाँको सेयर किनबेच गर्दा पहिले ३०० रुपैयाँ कमिशन लाग्थ्यो भने अब २०० रुपैयाँ पर्नेछ ।

यस्तै, ५० हजारभन्दा माथि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्ममा ०.३४ प्रतिशत, २० लाखदेखि एक करोडसम्मको कारोबारमा ०.३० प्रतिशत र त्यसभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत कमिशन लाग्नेछ ।

सरकार, सरकारी निकाय, राष्ट्र बैंक वा अन्य जमानत प्राप्त संस्थाहरुले जारी गर्ने ऋणपत्रको हकमा दलाल कम्पनीले अब न्यूनतम ०.०२ प्रतिशतदेखि अधिकतम ०.१० प्रतिशतसम्म मात्र कारोबार कमिशन लिन पाउनेछन् । यस्तै, सामूहिक लगानी कोषका एकाइ तथा अन्य धितोपत्रको कारोबारमा दलाल कमिशन ०.१० देखि ०.१५ प्रतिशतसम्म कमिशन लिन पाउनेछन् ।
ब्रोकर कमिशनको संशोधित दर पुस १२ गते आइतबारबाट लागु हुने बोर्डले जनाएको छ ।

प्रतिक्रिया