काठमाडौं–व्यापार घाटा चुलिएको अवस्थामा चालु आर्थिक वर्षमा भने वैदेशिक व्यापारमा सुधार आएको छ । विदेशबाट आयात हुने वस्तुको परिणाम घटेको छ भने निर्यात बढेको छ । पोहोरको तुलनामा चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा आयात ५६ अर्ब रुपैयाँले घटेको छ । ५० अर्बको वस्तु निर्यात भएको छ ।
कोभिडको कारण सामान आयात घटेको हो । चालु आर्थिक वर्ष पाँच महिनामा पोहोरको तुलनामा आयात ९.५९ प्रतिशतले आयात घटेको छ । भन्सार विभागका अनुसार मंसिर महिनासम्ममा ५ खर्ब २५ अर्ब ४९ लाख ८१ लाखको वस्तु आयात भएको छ । गत वर्ष सोही अवधिमा ५ खर्ब ८१ अर्ब २५ करोड ७१ लाख आयात भएको थियो ।
मंसिरसम्ममा ५.१२ प्रतिशतले निर्यात बढेको देखाउँदछ । उक्त तथ्याङ्क अनुसार पाँच महिनाको अवधिमा ५० अर्ब ५ करोड ५६ लाख वस्तु निर्यात भएको छ । साथै, गत वर्षको सोही अवधिमा ४७ अर्ब ६१ करोड ६८ लाख वस्तु निर्यात भएको थियो ।
मंसिरसम्म वैदेशिक व्यापार घाटा ४ खर्ब ७५ अर्ब ४४ करोड २५ लाख रहेको छ । गत वर्ष नेपालले ५ खर्ब ३३ अर्ब ६४ करोड २ लाख वैदेशिक व्यापार घाटा व्यहोर्नुपरेको थियो । जुन गत वर्षको तुलनामा १०.९१ प्रतिशत कम घाटा व्यहोरेको तथ्याङ्कले उल्लेख गरेको छ ।