प्रधानमन्त्री ओलीको गृह जिल्लामा ६९ अर्बको औद्योगिक पार्क

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा करिब ६९ अर्ब रुपैयाँको औद्योगिक पार्क निर्माण हुने भएको छ । चीनको सहयोगमा पार्क निर्माण गर्न लागिएको हो ।

दमक क्लिन इन्डस्ट्रियल पार्कले चाइना नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गरेर लगानी बोर्डमा बुझाएको छ । लगानी बोर्डको बैठकले सो परियोजनाको निर्माणको लागि ५८.६१ करोड अमेरिकी डलर (आजको विनिमय दर अनुसार ६९ अर्ब १५ करोड रुपैयाँं) बराबरको लगानी स्वीकृत गरिसकेको छ ।

यो दक्षिण एसियाकै सबैभन्दा आधुनिक औद्योगिक पार्क हो । एक हजार ६ सय हेक्टरमा बन्ने सो औद्यगिक पार्कको निर्माण चार चरणमा सम्पन्न हुनेछ । पहिलो चरणमा ५८ करोड ६० लाख अमेरिकी डलर (आज विनियम दर अनुसार ६३ अर्ब २१ करोड रुपैयाँ) लगानी गरेर निर्माण कार्य हुनेछ । सो औद्योगिक पार्क काम, आराम, मनोरञ्जन र संस्कृतिका दृष्टिले समेत दक्षिण एसियामै उत्कृष्ट हुने बताइएको छ । औद्योगिक पार्क निर्माणका लागि नेपाल लगानी बोर्ड र दमक क्लिन इन्डस्ट्रियल पार्कबीच समझदारीपत्रमा हस्ताक्षर भैसकेको छ ।

यो औद्योगिक पार्क झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिको क्षेत्र ओगट्छ । चीनले अघि सारेको बेल्ट एन्ड रोड परियोजना अन्तर्गत नेपालमा बन्न लागेको यो पहिलो परियोजना हो ।

पार्कमा चीनको ल्हासा इकोनोमिक एन्ड टेक्निकल डिपार्टमेन्ट र जोन जिङपिङ क्रियसन कन्सट्रक्सन कम्पनीको लगानी रहनेछ । उक्त औद्योगिक पार्कमा विदेशी लगानीका उद्योगलाई आकर्षित गर्ने योजना छ । स्थानीय तहले कम्तीमा १० वर्षसम्म कुनै उद्योगसँग कर नलिने घोषणा गरिसकेको छ ।
पार्कमा इलेक्ट्रोनिक, अटो मोबाइल्स, गार्मेन्ट, खाद्यान्नलगायत उद्योगलाई आकर्षित गर्ने योजना छ । औद्योगिक पार्क निर्माण गरेपछि चीनमा स्थापित बहुराष्ट्रिय कम्पनीहरू पार्कमा आउने अपेक्षा गरिएको छ। पार्क ४० वर्ष चिनियाँले नै सञ्चालन गरेर नेपाललाई हस्तान्तरण गर्नेछन्। पार्क निर्माणका लागि नेपाल सरकारले जमिनमात्र उपलब्ध गराएको छ ।

औद्योगिक पार्कमा करिब एक लाख रोजगारी सिर्जना हुने बताइएको छ । सरकारले औद्योगिक पार्कका लागि आवश्यक पर्ने दुई हजार दुई सय बिघा जग्गामध्ये एक हजार सात सय ९० बिघा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा दिइसकेको छ ।

प्रतिक्रिया