अघि बढेको इतिहासको गति कहिल्यै पछाडि फर्कदैन : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अगाडि बढिसकेको इतिहासको गति कहिल्यै पछाडि नफर्कने बताउनुभएको छ । 

“नेपाली जनताले ठूलो बलिदान र संघर्षबाट समावेशीयुक्त संघीय लोकतान्त्रिक गणतान्त्रात्मक संविधान प्राप्त गरेका छन्, यो संविधानले सबैलाई मिलाएर लैजाने लक्ष्य राखेको छ, यसमा सबै निश्चिन्त हुन म आग्रह गर्दछु”, बौद्ध धर्म, संस्कृति र परम्परा अनुसार शीतल निवासमा मंगलबार भएको नेपाल बज्रयान महाविहार, लुम्बिनीको राजकुल गमन कार्यक्रममा राष्ट्रपति पौडेलले भन्नुभयो, “इतिहासको जुन गति छ, अगाडि बढेपछि त्यो फर्कदैन ।”

बुद्ध धर्मले नेपाललाई संसारमा चिनाएको, यसको गरिमा बढाएको र नेपालको मौलिकता झल्काएको उल्लेख गर्दै उहाँले भन्नुभयो,“ बुद्ध धर्मले विश्वमा शान्तिको लागि मात्र होइन, ज्ञानको लागि पनि योगदान पु¥याएको छ र आत्मिक शक्तिलाई माथि उठाउन पनि योगदान दिएको छ । ”

नेपाल परम्परागत बौद्ध धर्म संघको संयोजनमा भएको सो कार्यक्रममा राष्ट्रपति पौडेलले भिक्षु, भिक्षुणीहरुलाई दान दक्षिणा प्रदान गर्नुभयो ।

प्रतिक्रिया