विदेशी कम्पनीले १८ अर्ब लाभांश लगे

काठमाडौं–कोभिडको कारण स्वदेशी तथा विदेशी कम्पनीको मुनाफा घटिरहेको भए पनि नेपालमा लगानी गरेका विदेशी कम्पनीले करिब २० अर्ब रुपैयाँ लगेका छन् । पोहोरको तुलनामा विदेशी कम्पनीले धेरै लाभांश रकम लगेका छन् ।

२० अर्ब मध्ये करिब १८ अर्ब रुपैयाँ लाभांश रहेको छ भने पौने दुई अर्ब रुपैयाँ वैदेशिक ऋणको साँवा र व्याज बापतको रकम लगेका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार १९ अर्ब ७४ करोड रुपैयाँ नेपाली मुद्रा सटही गरिएको छ । १७ अर्ब ९७ करोड रुपैयाँ लाभांश फिर्ता र १ अर्ब ७७ करोड वैदेशिक ऋणको साँवा तथा व्याज फिर्ता लैजान स्वीकृति लिएका हुन् ।

पोहोरको पहिलो तीन महिनाको तुलनामा यो वर्ष धेरै लाभांश लगेका छन् । पोहोर सोही अवधिमा १२ अर्ब ९० करोड बराबरको लाभांश फिर्ता लैजान र ३ अर्ब २८ करोड रुपैयाँ वैदेशिक ऋणको साँवा तथा व्याज फिर्ता लैजान स्वीकृति लिएका थिए । यसले नेपालमा लगानी गरेका विदेशी कम्पनीले राम्रो मुनाफा आर्जन गरिरहेको देखिन्छ ।

राम्रो मुनाफा हुने भएपछि विदेशी कम्पनीले नेपालमा लगानी बढाइरहेका छन् । पहिलो त्रैमासिकमा प्रत्यक्ष वैदेशिक लगानी र वैदेशीक ऋणमार्फत् १९ अर्ब ५५ करोड रुपैयाँ लगानीका लागि स्वीकृत भएको छ । पोहोरको सोही अवधिमा ११ अर्ब ४४ करोड प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको थियो ।

प्रतिक्रिया