काठमाडौं–सेञ्चुरी कमर्सियल बैंकले ४५ करोड रुपैयाँ बराबरको बोनश सेयर दिने भएको छ । मुनाफाबाट वितरण गर्न बाँकी रहेको बोनश रकम १६ करोड ८३ लाख ९ हजार ४सय २३ समेत गरी कायम हुन आउने चुक्ता पुँजी रकम ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार रुपैयाँमा ५.२५ प्रतिशत हुन आउने ४५ करोड ६ लाख ४८ हजार ५ सय २ रुपैयाँ बोनस सेयर वितरण गर्ने भएको हो । गत आर्थिक वर्षको वितरणगर्न योग्य मुनाफाबाट बोनस दिने प्रस्ताव सञ्चालन समितिको बैठकले पास गरेर प्रस्ताव गरेको छ ।
चुक्ता पुँजी रकममा २.२५ प्रतिशतले हुन आउने १९ करोड ३१ लाख ३५ हजार ७२ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव बैंकको सञ्चालक समितिले गरेको छ । प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमका अनुसार बैंक सञ्चालक समितिको सोमबार सम्पन्न ३२६ औं बैठकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ ।
अघिल्लो आर्थिक वर्ष ०७५÷७६ बाट बैंकले २ प्रतिशत बोनस र ४.७५ प्रतिशत लाभांश गरी ६.७५ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको लाभांश बढेको छ ।