चन्द्रागिरीको आईपीओमा साढे दुई गुणा बढी आवेदन, दोस्रो चरणको आईपीओ कहिले ?

काठमाडौ–चन्द्रागिरी हिल्स लिमिटेडको पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरिएको प्राथमिक सेयर (आईपीओ)मा आइतबारसम्म करिब साढे दुई गुणा आवेदन परेको छ । मंसिर २८ गते आइतबारसम्ममा ७ करोड ४२ लाख रुपैयाँ ( २.४२ गुणा बढी) सेयर माग भएको छ ।

मंसिर १७ गतेदेखि निष्काशन खुला भएको आइपिओमा २ हजार २८ वटा आवेदबाट ७ करोड ४२ लाख ६८ हजार रुपैयाँ बराबरको ७ लाख ४२ हजार ६८० कित्ता सेयर माग भएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट १ हजार ७५९ वटा आवेदन मार्फत ६ लाख १० हजार ९४० कित्ता र फारम मार्फत २६९ आवेदन मार्फत १ लाख ३१ हजार ७४० कित्ताको माग परेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितका लागि प्रति सेयर १०० रुपैयाँका दरले ३ लाख ६ हजार ८१९ कित्ता शेयर निष्काशन गरेको थियो ।

आईपीओमा पुस १ गतेसम्म आवेदन दिन पाइने समय छ । इच्छुक आवेदकले कम्तिमा १० कित्ता देखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन सक्नेछन् । पहिलो चरणको आईपीओमा आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नंम्बर ३, ४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गाविसको वडा नं. ३, ४, ५, ६, ७, ८, एवं मकवनपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० का नागरिकले मात्र आवेदन दिन पाउँछन् ।

कम्पनीले पहिलो चरणको शेयर बिक्रीपछि सर्वसाधारणमा दोश्रो चरणमा शेयर बिक्रीमा ल्याउनेछ । दोश्रो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात १५ लाख ३४ हजार ९१ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन हुनेछ । दोस्रो चरणको आइपिओका लागि मिति तय भएको छैन । छिट्टै आईपीओ निष्कासनको तयारी गरिरहेको छ ।
कम्पनीले सर्वसाधारण र स्थानीय बासिन्दाका लागि गरी कुल १८ करोड ४० लाख बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर बिक्रीका लागि धितापत्र बोर्डबाट अनुमति पाएको थियो। आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड पुग्नेछ ।

प्रतिक्रिया