काठमाडौ–जलविद्युत कम्पनीको सेयर किन्ने योजनामा हुनुहुन्छ भने अपी पावरले १३ लाख कित्ता सेयर बिक्री गर्दैछ । अपि पावर कम्पनीले हकप्रदमा निबिकेको साढे १३ लाख कित्ता सेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो ।
कम्पनीले पुस ९ गतेदेखि १३ लाख ४६ हजार २१८ कित्ता सेयरको बिक्री खुला गर्ने भएको हो । शेयरमा पुस १३ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध सिद्धार्थ क्यापिटलका अनुसार लिलामीको शेयरमा न्यूनतम १०० कित्ता वा सो भन्दा बढी १० ले भागजाने गरी वा सबै कित्ताका लागि आवेदन गर्न सकिनेछ ।
कम्पनीले कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गतेसम्म चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख बराबरको विद्यमान १ कित्ता साधारण शेयर बराबर ०.४७६१९ कित्ता अनुपातमा १०० रुपैयाँ अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । जसमध्ये ४३ लाख २३ हजार ७८२ कित्ता हकप्रद बाँडफाँड गरेको कम्पनीले जनाएको छ ।