९ महिना बन्द रहेको मनकामना केबुलकार आजदेखि सञ्चालन

काठमाडौं–लकडाउन र प्रतिबन्धका कारण विगत नौ महिनादेखि बन्द रहेको मनकामना केबुलकार मंसिर २८ गते(आजबाट) पुनः सञ्चालनमा आएको छ ।

मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको स्थानीय तहका सरोकारवाला सहितको बैठकको निर्णयअनुसार मनकामना मन्दिर र बजार खुल्ने तथा केबुलकार समेत सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।

कडा स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरी केबुलकार सेवा सञ्चालनमा आएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। मापदण्ड अनुसार केबुलकारको दुवै स्टेसनमा यात्रुको ज्वरो मापन गरिने र सय डिग्री फरेनहाइटभन्दा माथि ज्वरो भएका र रुघाखोकी लक्षण देखिएका यात्रुलाई केबुलकारमा प्रवेश नदिइने कम्पनीले जनाएको छ ।

केबुलकार प्रवेश गर्दा अनिवार्य रूपमा माक्स लगाउनुपर्ने, हात सेनिटाइज गर्नुपर्ने, लाइनमा बस्दा भौतिक दुरी कायम पर्नुपर्ने छ। कम्पनीले स्टेसन हाताभित्र पिकनिक र वनभोजलाई अस्थाई रूपमा बन्द गरिएको जनाएको छ। केबुलकार क्षमताको ५० प्रतिशत यात्रुलाई सेवा दिइने र तत्पश्चात स्वतः प्रवेश बन्द गरिने हुँदा यात्रुले सोही अनुसार आफ्नो यात्रा तय गर्नुपर्ने छ। बलि दिने प्रयोजनको लागि पशुपक्षी ढुवानी गर्ने सेवा अस्थायी रूपमा बन्द गरिएको जारी विज्ञप्तिमा उल्लेख छ। केबुलकार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मात्र सञ्चालनमा आउनेछ ।

प्रतिक्रिया