राजस्व संकलनमा ११.७२% वृद्धि, बजेट खर्च भने निराशाजनक

काठमाडौं – चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको ७.३९ प्रतिशत पुगेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारले १ खर्ब ३७ अर्ब ५५ करोड २७ लाख रुपैयाँ खर्च गरेको छ। यद्यपि, खर्चको प्रवृत्तिमा कुनै ठूला परिवर्तन देखिएको छैन।

चालु आर्थिक वर्षका लागि सरकारले कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको थियो। यसमध्ये चालु शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन भएकोमा ८२ अर्ब ९८ करोड ६५ लाख, अर्थात् ७.२८ प्रतिशत खर्च भएको छ। गत वर्षको सोही अवधिमा यो शिर्षकमा ३.९९ प्रतिशत मात्र खर्च भएको थियो।

विकास बजेटतर्फ भने सामान्य सुधार देखिएको छ। दुई महिनामा १४ अर्ब ८९ करोड ४० लाख रुपैयाँ खर्च भएको छ, जुन कुल ४.२३ प्रतिशत हो। गत वर्षको यही अवधिमा पुँजीगत खर्च १.८७ प्रतिशत मात्र थियो।

वित्तीय व्यवस्थापन शीर्षकमा १०.८ प्रतिशत खर्च भएको छ, जसमा सरकारी ऋण तिर्न ३९ अर्ब ६७ करोड २२ लाख खर्च गरिएको छ।

राजस्व संकलनतर्फ पनि सुधार देखिएको छ। भदौ मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको ११.७२ प्रतिशत राजस्व संकलन गरेको छ, जसमा १ खर्ब ६६ अर्ब ३८ करोड ७६ लाख रुपैयाँ उठेको छ।

यद्यपि, बजेट खर्चको अवस्था निराशाजनक छ, र चालु आवका लागि सरकारको वार्षिक बजेटको कार्यान्वयनले अपेक्षाकृत परिणाम दिन नसक्ने सङ्केत देखिएको छ।

प्रतिक्रिया