काठमाडौँ — आज यमपञ्चक अर्थात् भाइटीका पर्व परम्परागत श्रद्धा, आस्था र निष्ठाका साथ दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने यो पर्व नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन हो। यस दिनलाई यमद्वितीया पनि भनिन्छ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ। धर्मशास्त्रविद् डा. देवमणि भट्टराईका अनुसार, दिदीबहिनीले दाजुभाइलाई पूजा गर्दा अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ।
भाइटीकाको लागि विशेष साइत खोज्नेका लागि बिहान ११:३७ को अभिजित् मुहूर्त उत्तम रहेको बताइएको छ। यस वर्ष भाइटीका लगाउँदा दिदीबहिनी पूर्व र दाजुभाइ पश्चिम फर्किनुपर्ने समितिले सिफारिस गरेको छ। चन्द्रमा वृश्चिक राशिमा रहेका कारण शुभ कार्यमा चन्द्रलाई दाहिने पार्नुपर्ने शास्त्रीय नियमअनुसार यो दिशा उत्तम मानिएको छ।
यस दिन दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले घेरिएपछि परम्परागत सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीका माला लगाएर पूजा गर्छन्। शास्त्रीय मान्यताअनुसार तिहारको टीकामा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रंग मात्र प्रमुख मानिन्छ।