हत्या आरोपी वडाध्यक्षलाई अबिरजात्रा

विराटनगर–हत्या आरोपी विराटनगर महानगरपालिका– १४ का वडा अध्यक्ष बलदेव यादव धरौटीमा छुटेका छन् । विराटनगर– १४ कै ५५ वर्षीय समानन्द यादवको हत्या आरोपी यादव जिल्ला अदालत मोरङमा हाजिर भएकै दिन धरौटी बुझाएर छुटेका हुन् ।

हत्या आरोपी यादव किटानी जाहेरी परेपछि डेढ वर्षयता फरार थिए । बिहीबार जिल्ला अदालत मोरङ हाजिर भएका यादवलाई जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासले तीन लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

आदेश्पछि यादव धरौटी बुझाएर छुटेको जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए । यादव हाजिर भएकै दिन छुट्दा उनका समर्थकले अविरजात्रा गरेका छन् ।

विवाहको विषयमा विवाद हुँदा ३२ जेठ २०७६ मा विराटनगर महानगरपालिका– १४ का वडा अध्यक्ष बलदेव यादवको घरमा बसेको पञ्चायतीमा छिमेकी ५५ वर्षीय समानन्दमाथि कुटपिट भएको थियो ।

कुटपिटबाट घाइते यादवको एक महिनापछि २६ असार २०७६ मा मृत्यु भयो । सामानन्दले जेठा छोराको विवाह गरिदिने वचन दिएका थिए । तर छोराले नमानेपछि वडा अध्यक्ष यादवको घरमा समानन्दमाथि कुटपिट भएको थियो । कुटपिटमा वडाध्यक्ष बलदेवसहित अन्य दुई वडा अध्यक्षको सहभागिता रहेको पीडित परिवारको आरोप छ ।

यादवको मृत्युपछि परिवारले घटनामा संलग्नको आरोपमा तीनजना वडा अध्यक्षसहित १० जना विरुद्ध किटानी जाहेरी दिए ।
जाहेरी परेका तीन वडाध्यक्षमध्ये २ जनालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । घरधनीसमेत रहेका विराटनगर– १४ का अध्यक्ष बलदेव यादवलाई पूर्पक्षका लागि धरौटीमा छाड्ने आदेश दियो ।
उच्च अदालत विराटनगरले प्रदीपचन्द यादवलाई जिल्लाको आदेश बदर गर्दै धरौटीमा छाड्ने आदेश दिएको थियो । साहको हकमा भने जिल्लाको आदेश सदर गरेको थियो ।

प्रतिक्रिया