स्थानीय तहमा रोजगारी सृजना गर्न तीन अर्ब

काठमाडौं– कोभिडको कारण रोजगारी गुमाइरहेका बेला सरकारले स्थानीय तहमा रोजगारी सृजना गर्ने तयारी गरेको छ । युवा बेरोजगारको सूची तयार गरेर रोजगार बनाउन लागेको हो । त्यसका लागि करिब तीन अर्ब रुपैयाँ स्थानीय तहमा पठाएको छ । यो ससर्त अनुदानको रकम हो ।

चालु आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई लाख रोजगारी सृजना गर्ने घोषणा गरेको सरकारले पाँच सय ६९ पालिकामा तीन अर्ब रुपैयां पठाएको हो । सरकारले चालु आर्थिक वर्षमा रोजगारी सृजना गर्न ११ अर्ब ६० करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । अर्थ मन्त्रालयले हालसम्म छ अर्ब ८९ करोड रुपियाँ स्थानीय तहमा पठाइ सकेको छ ।

रोजगार कार्यक्रममा पठाएको रकमबाट रोजगारी सृजना गर्नुपर्नेछ । स्थानीय तहले बेरोजगारलाई सुचिकृत गर्नका लागि आवेदन आह्वान गरेको थयो । प्रधानमन्त्री रोजगार कार्यक्रम विगत वर्षदेखि सञ्चालनमा छ ।

पोहोर सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ६० हजारलाई न्यूनतम एक सय दिनको रोजगारी दिएको थियो । तर, उक्त कार्यक्रमको बजेट झार उखेल्न लगायतका अनावश्यक कार्यक्रममा खर्च गरको भन्दै चर्को विरोध भएको थियो । यो वर्ष पनि बेरोजगार युवालाई न्यूनतम एक सय दिनको रोजगारी दिने योजना रहेको छ । युवाहरुलाई स्थानीय पूर्वाधार लगायतका विकास निर्माणमा लगाउने सरकारी तयारी छ ।

प्रतिक्रिया