काठमाडौँ —उद्योगी व्यवसायीले ७२ अर्ब रुपैयाा पुनर्कर्जाको माग गरेका छन् । सरकारले बजेटमार्फत उद्योगी, व्यवसायीलाई पुनर्ककर्जा दिने व्यवस्था गरेको थियो ।
बैंक तथा वित्तीय संस्थाले आवेदन संकलन गरेकोमा ४५ वटा बैंक तथा वित्तीय संस्थामा ७२ अर्ब रुपैयाँ बराबरको कर्जा माग गर्दै आवेदन परेकोमा नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँमात्र स्वीकृत गरेको छ ।
उद्योगी व्यवसायीले ७२ अर्ब रुपैयाँ माग गरेको भए पनि ४५ वटा बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकमा करिब ६९ अर्ब रुपैयाँ बराबर पुनर्कर्जाका लागि आवेदन परेको थियो । त्यसमा ५० अर्ब ७ करोड रुपैयाँ स्वीकृत भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
पुनर्कर्जाको नयाँ कार्यविधिअनुसार राष्ट्र बैंकले कुल पुनर्कर्जा रकमको बढीमा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट रूपमा रकम प्रदान गर्नेछ । राष्ट्र बैंकले पहिलो चरणमा २३ अर्ब ६३ करोड रुपैयाँ मंसिर १५ भित्रै भुक्तानी दिने तयारी गरेको छ । बाँकी २६ अर्ब ४४ करोड रुपैयाँ पुस दोस्रो सातासम्म भुक्तानी गर्ने योजना रहेको राष्ट्र बैंकले जनाएको छ ।
पहिलो चरणमा वितरण गर्न लागिएको पुनर्कर्जा १५ लाख रुपैयाँसम्म सीमा भएको लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा हो । राष्ट्र बैंकले पुनर्कर्जाको मापदण्ड परिमार्जन गरेर बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट रूपमा रकम प्रदान गरिने व्यवस्था छ ।
पुनर्कर्जाको नयाँ कार्यविधिअनुसार राष्ट्र बैंकले कुल पुनर्कर्जा रकमको बढीमा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट रूपमा रकम प्रदान गर्नेछ । तोकिएको मापदण्डभित्र रहेर बैंक तथा वित्तीय संस्थाले सो रकम ऋणीलाई प्रवाह गर्नेछन् । बाँकी ३० प्रतिशतमध्ये २० प्रतिशत ग्राहक पुनर्कर्जाअन्तर्गत राष्ट्र बैंकले प्रवाह गर्छ । बाँकी १० प्रतिशत राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई एकमुष्ट रूपमा प्रदान गर्ने व्यवस्था छ । यी कर्जामा ग्राहकले ३ देखि ५ प्रतिशत मात्र ब्याज भुक्तानी गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले प्रतिव्यक्ति बढीमा ५ करोड रुपैयाँ मात्र पुनर्कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ ।