काठमाडौँ — सरकारले धेरै कर तिर्ने करदातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष ०७६÷०७७ मा सबैभन्दा बढी कर बुझाउने विभिन्न क्षेत्रका १५ करदातालाई सम्मान गरेको छ । नऔं राष्ट्रिय कर दिवसको अवसरमा आइतबार सम्मान गरेको हो ।
सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्रालि परेको छ । व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्नेमा जाउलाखेल ग्रुपका अध्यक्ष विजयकुमार शाह सम्मानित भएका छन् । निर्यातकर्ताहरूमध्ये सबैभन्दा बढी आयकर तिर्ने डाबर नेपाल प्रालि र सबैभन्दा बढी आयकर तिर्ने विशेष उद्योगमा हिमाल पावर लिमिटेड सम्मानित भएका छन् ।
यस्तै विभागले कृषि एवं पशुपन्छीजन्य उद्योगमा अन्नपूर्ण एग्रो इन्डस्ट्रिज प्रालि, सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड र बैंक वित्तीय संस्थामा नबिल बैंक लिमिटेड सम्मान गरेको छ । बिमा व्यवसायमा नेपाल पुनर्बिमा कम्पनी लिमिटेड, शिक्षा सेवामा मनिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप (नेपाल) प्रालि, विप्रेषणको कारोबार गर्नेमा आईएमई लिमिटेड र व्यापार व्यवसायमा अग्नि इन्कर्पोरेटेड प्रालि सम्मानित भएका छन् ।
पर्यटन व्यवसायमा तारागाउँ रिजेन्सी होटल्स लिमिटेड, मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रमा कामना सेवा विकास बैंक लिमिटेड, आन्तरिक राजस्व कार्यालयहरूको कार्य क्षेत्रमा भीएफ सर्भिसेज (मोरिसस) प्रालि र मूल्य अभिवृद्धि करतर्फ घोराही सिमेन्ट इन्डस्ट्री प्रालिलाई सम्मानित भएका छन् ।