वित्तीय क्षेत्रमा अनुभवी पौडेल आइएमई लाइफको डिसिओ नियुक्त


काठमाडौं–वित्तीय क्षेत्रमा अनुभवी खिलेन्द्र पौडेल आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिओ)नियुक्त भएका छन् । आइएमई लिमिटेड र जिएमईको मर्जरपछि पौडेल आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतबाट बिदा भई आइएमई लाइफमा प्रवेश गरेका हुन् । पौडेलको वित्तीय क्षेत्रमा लामो अनुभव रहेको छ ।


आइएमई लिमिटेडको स्थापनादेखि नै विभिन्न जिम्मेवारीमा रहेका खिलेन्द्र रेमिट्यान्स, भुक्तानी प्रणाली, फिनटेक तथा डिजिटल वालेट र अन्तरदेशीय कारोबारमा दख्खल राख्छन् । आइएमई ग्रुपले प्रवर्द्धन गरेका वित्तीय संस्थाको उच्च व्यवस्थापन तथा स्मार्ट च्वाइस, सनि सेक्युरिटिज, आइएमई डिजिटल सोलुसनलगायतका कम्पनी सञ्चालकका रूपमा समेत पौडेल कार्यरत थिए ।


त्रिभुवन विश्वविद्यालयबाट एमबिए फाइनान्स गरेका पौडेलले भारतको अहमदाबादस्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र मलेसियाको इन्स्टिच्युट अफ ब्यांकर्स मलेसियाबाट कार्यकारी वित्तीय व्यवस्थापन तथा अन्तरदेशीय लगानी व्यवस्थापनका विषयमा एक्जुकेटिभ कोर्स गरेका छन् । साथै खिलेन्द्रले अमेरिकास्थित हार्भर्ड केनेडी स्कुलबाट पोलिसी डिजाइन र वित्तीय सेवासम्बन्धी व्यावसायिक कोर्स पनि गरेका छन् ।

उच्च तथा व्यावसायिक शिक्षा र व्यवस्थापकीय नेतृत्वको अनुभवले आइएमई लाइफले दिएको जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्ने र बिमा क्षेत्रमा थप रणनीतिक व्यावसायिक साझेदारी निर्माणमा योगदान दिने नायब कार्यकारी खिलेन्द्र पौडेलले उल्लेख गरेका छन्।
 

प्रतिक्रिया