कोभिडबाट बच्न विशेष सतर्कता अपाउन प्रधानमन्त्रीको आह्वान

काठमाडौं—कोरोनाका विरामीको उचित उपचार गर्न नसकिरहेको आरोप लागिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड—१९ बाट बच्न विशेष सतर्कता अपनाउँदै पर्व मनाउन आह्वान गरेका छन् ।

कोभिडको संक्रमण बढेको र मृत्यु भैरहेका बेला प्रधानमन्त्रीले यस्तो आह्वान गरेका हुन् । नेपाल सम्वत् ११४१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले आम नागरिकलाई अपिल गरेका छन् ।

ओलीले पार्टी भित्र किचलो बढिरहेका बेला एकतामार्फत् नै हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सकिने बताएका छन् । उनले मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका उल्लेख गर्दै सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको जनाउँदै यहाँका विविधतायुक्त मौलिक परम्परा सिंगो राष्ट्रका साझा पुँजीका रुपमा अङ्कित रहेको उल्लेख गरेका छन् ।

“एकताको यस राष्ट्रिय पुँजीलाई हामीले मुलुक निर्माणको आधारस्तम्भका रुपमा आत्मसात् गरेका छौं,” उनले सन्देशमा भनेका छन्, “हाम्रा सांस्कृतिक विविधतालाई विग्रह र द्वन्द्वको अवसरका रुपमा दुरुपयोग गर्न बेलाबेला भएका दुष्प्रयासहरुलाई पनि हामीले आपसी एकताद्वारा पराजित गर्दै राष्ट्रिय एकता, स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षा गर्दै आएका छौं ।”

शंखधर साख्वाःले ऋणमा डुबेर दासत्वको जीवन बिताइरहेका सर्वसाधारणहरुलाई ऋणबाट मुक्त बनाई स्वतन्त्रता दिलाएको दिनलाई प्राचीन कालदेखि नेपाल सम्बतका रुपमा मनाइँदै आएको छ ।

प्रतिक्रिया