काठमाडौं - चालु आर्थिक वर्षको पाँच महिनामा ६ अर्ब रुपैयाँभन्दा बढीको बीमा सरेन्डर भएको छ। नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको मंसिर मसान्तसम्मको तथ्याङ्कअनुसार, १४ वटा जीवन बीमा कम्पनीका ४५ हजार ६० बीमितले बीमालेख त्यागेका छन्। यो कुल बीमा व्यवसायको झन्डै ११ प्रतिशत हो।
समिक्षा अवधिमा ६ अर्ब १० करोड ७२ लाख रुपैयाँ बराबरको बीमा सरेन्डर भएको छ। मंसिर महिनामात्रै ९ हजार ७५ बीमितले १ अर्ब २७ करोड ७५ लाख रुपैयाँ बराबरको बीमा सरेन्डर गरेका छन्। मासिक औसतमा १ अर्ब २२ करोड हाराहारीमा बीमा सरेन्डर भएको देखिन्छ।
पाँच महिनामा सबैभन्दा धेरै बीमा सरेन्डर गर्ने कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) रहेको छ। एलआइसीका ११ हजार ७९३ बीमितले १ अर्ब ९३ करोड ३५ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका छन्। नेपाल लाइफ दोस्रो स्थानमा रहेको छ, जसका १० हजार ३१७ बीमितले १ अर्ब ६७ करोड ९६ लाख रुपैयाँ बराबरको बीमालेख त्यागेका छन्। यी दुई कम्पनीको मात्र सरेन्डर रकम कुलको ५९.१६ प्रतिशत हो।
राष्ट्रिय जीवन बीमा कम्पनीका ५१ करोड ३२ लाख, एशियनका ४० करोड १४ लाख, नेशनलका ३७ करोड ११ लाख, र सूर्यज्योतिको ३२ करोड ६४ लाख रुपैयाँ बराबरका बीमालेख सरेन्डर भएका छन्। यस्तै, हिमालयन लाइफ, मेट लाइफ, सानिमा रिलायन्स, आइएमई, सिटिजन, प्रभू महालक्ष्मी, रिलायबल, र सन नेपाल लाइफका बीमितले समेत उल्लेखनीय मात्रामा बीमालेख सरेन्डर गरेका छन्।
बीमा सरेन्डर नियमित प्रक्रिया भए पनि अवधिनसकिँदै बीमालेख त्याग्ने प्रवृत्ति बढिरहेको प्राधिकरणको तथ्याङ्कले देखाएको छ।