साढे ३८ अर्ब रुपैयाँ लगानी स्वीकृत

काठमाडौं–विवादित छवी भएका व्यक्तिलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको भन्दै आलोचना भैरहेका बेला नवनियुक्त कार्यकारी अधिकृत सुशील भट्टले कोभिड प्रकोपकैै बीच काम देखाउन सुरु गरेका छन् । कोभिडको कारण नयाँ परियोजना नआइरहेका बेला लगानी बोर्डले साढे ३८ अर्ब रुपैयाँका परियोजना स्वीकृत भएको छ ।

भट्ट प्रमुख कार्यकारी अधिकृत बनेपछि सक्रियता देखाउँदै पाइपलाइनमा रहेका विद्युत परियोजना अघि बढाउन स्वीकृत गराएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले स्वीकृति दिएको हो । स्वीकृत भएका सबै आयोजना जलविद्युत् परियोजना रहेका छन् ।

लगानी बोर्डका प्रमुख कार्यकारी अकिृत भट्टका अनुसार सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणामा कार्यान्वयन हुन लागेको ७७.५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत् परियोजना रहेको छ । उक्त परियोजनाको १७ अर्ब ६२ करोड ४० लाख रुपैँया लगानी स्वीकृत गरिएको छ ।

त्यसैगरी, ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत् परियोजनाका लागि १० अर्ब ६१ करोड ९१ लाख रुपैँया र ६५ मेगावाट क्षमताको दुधखोला जलविद्युत् परियोजनाका लागि १० अर्ब ४३ करोड ६० लाख रुपैँया लगानी स्वीकृत भएको लगानी बोर्डले जनाएको छ । बोर्डको अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था रहेको छ ।

लगानीकर्तालाई आकर्षित गर्ने गरी परियोजना निर्माण गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए । बोर्डका कामका बारेमा प्रमुख कार्यकारी अधिकृत भट्टले जानकारी गराएका थिए ।

प्रतिक्रिया