बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेयर कर्जा ४३ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेयर कर्जा उल्लेखनीय रूपमा बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको २०८२ जेठसम्मको तथ्यांक अनुसार, २०८१ असारको तुलनामा सेयर (मार्जिन प्रकृतिको) कर्जा ४२.८२ प्रतिशतले वृद्धि भएको छ। यो अवधिमा करिब ३८ अर्ब ५७ करोड रुपैयाँ बराबरको सेयर कर्जा थपिएको हो।

गत वर्षको असार मसान्तसम्म कुल सेयर कर्जा ९० अर्ब ९ करोड रुपैयाँ रहेकोमा २०८२ जेठसम्म १ खर्ब २८ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। जानकारका अनुसार, बैंक तथा वित्तीय संस्थामा तरलता प्रशस्त हुनु, ब्याजदर घट्दो क्रममा रहनु, वैकल्पिक लगानी क्षेत्रहरूमा अपेक्षित सुधार नहुनु र सेयर बजारमा पहिलाको तुलनामा मूल्य कम हुनुजस्ता कारणले कर्जा प्रवाहमा तीव्रता आएको हो।

मौद्रिक नीतिमा राष्ट्र बैंकले संस्थागत लगानीकर्ताको लागि तोकिएको २० करोड कर्जाको सीमा हटाएकोले पनि सेयर कर्जा वृद्धि भएको बताइएको छ। यद्यपि व्यक्तिगत लगानीकर्ताका लागि १५ करोडको सीमा यथावत छ, जुन हटाइनुपर्ने माग लगानीकर्ताले राख्दै आएका छन्।

समग्र कर्जा प्रवाहको विश्लेषण गर्दा अधिकांश कर्जाको शीर्षकमा सुधार देखिएको छ। तथापि, ओभरड्राफ्ट र विपन्न वर्ग कर्जामा भने ऋणात्मक वृद्धि देखिएको छ। बाँकी शीर्षकहरू जस्तै सेयर कर्जा, आवधिक कर्जा, आयात कर्जा, आवासीय कर्जा, हायर पर्चेज, क्यास क्रेडिट, रियल स्टेट, बिल्स खरिद तथा अन्य कर्जाहरूमा उल्लेखनीय वृद्धि भएको छ।

कर्जा प्रकार 2082, जेठ 2081, असार वृद्धि प्रतिशत (%)
आवधिक कर्जा (Term Loan) 2029729.1 1931014.2 5.11
ओभरड्राफ्ट (Overdraft) 108062.3 124430.9 -13.15
क्यास क्रेडिट (Cash Credit Loan) 652370.2 648711.6 0.56
ट्रस्ट रिसिप्ट / आयात कर्जा 134391.8 82835.1 62.24
डिमाण्ड / कार्यशील पूँजी कर्जा 855039.0 725474.1 17.86
आवासीय कर्जा (२० लाखसम्म) 410068.4 387016.1 5.96
रियल स्टेट कर्जा 277716.1 268128.9 3.58
सेयर कर्जा (Margin Nature Loan) 128670.9 90093.2 42.82
हायर पर्चेज कर्जा 130947.9 124102.4 5.52
विपन्न वर्ग कर्जा 287236.0 312186.1 -7.99
बिल खरिद (Bills Purchased) 11483.0 7815.0 46.94
अन्य कर्जा 538992.1 465365.3 15.82

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय