जैविक खेती पद्दती अबको भबिस्य ! किन र यसका उपायहरु

बिश्वभरनै सन १९६० को हरित क्रान्ति पश्चात् रासायनिक मलको प्रयोगले खेति उत्पादन बढ्यो । ठुला-ठुला कृषक जो संग महङ्गो लगानीमा कृषि गर्ने हैसियत थियो उनिहरुको आयस्तरमा कायापलट नै भयो तर साना मझौला किसानहरुको खेति भने जहाँको त्यही रह्यो । किनकी रासायनिक मलको बजार भाउ बर्षै पिच्छे अत्यन्तै महङ्गिदै गयो ।

यस्तोमा अर्गानिक खेती एउटा यस्तो खेती पद्दती हो जसमा कुनै खालका रासायनिक चिजको प्रयोग हुदैन । यसमा जैविक मल र किटनाशक औषधी मात्र प्रयोग गरिन्छ । पशु पालन, कुखुरा पालन , डेरि फार्मलाई पनि अर्गानिक खेतिमा सामेल गर्न सकिन्छ तर खेतिमा कुनै रसायन युक्त दाना र हर्मोन्सको प्रयोग भएको पाइनु हुदैन ।

आजभोली जैविक खेतिको प्रयोग र माग खासगरेर ठुला बजारमा अत्याधिक रुपमा बढेको पाइन्छ । शहर बजारका मानिसहरु आजभोली आफ्नो स्वास्थ्यलाइ एकदमै गहन ढङ्गले लिने भएकाले पनि हुन सक्छ यसको माग अहिले ह्वात्तै बढेको छ । यसैबिच संघियता पश्चात् नेपालमा पनि स्थानिय सरकारको बिशेष ध्यान खिच्न सफल अनि रोजाइमा पनि पर्न सफल भएको अर्गानिक खेतीले नेपाली किसानलाइ भबिस्यमा थप मुनाफा कमाउन सहज गर्ने कुरा प्रस्ट छ ।

जैविक खेतिका फाइदाहरु :-
१.जैविक खेती गर्नाले माटोको उत्पादकत्व स्थिर रहन्छ जसले माटोको स्वास्थ्य बढाउनुका साथसाथै उत्पादन शक्ति पनि बढ्ने हुन्छ ।

२.जैविक खेती पद्दतिले बाताबरणमा हावा प्रदुषण कम गर्नुका साथसाथै जमिनमा पानी प्रदुषण हुन बाट पनि जोगाउछ

३.बिरुवामा रसायन युक्त किटनासकको प्रयोगले मानव जिवनमा विभिन्न खालका बिमारीहरु जस्तै क्यान्सरहरु निम्ताउन सक्छ । त्यसैले जैविक खेतीबाट उत्पादित फलफुल तरकारी र अन्नबाली स्वास्थ्यकर पनि हुन्छन ।

४. जैविक खेतिले जमिनमा माटोको संरचनामा सुधार साथसाथै सूक्ष्म जीव र बनस्पती बिचको सन्तुलन मिलाउछ ।

५. रसायनयुक्त बिकासी मल महङ्गो हुनेभएकाले अर्गानिक खेतिले कृषि लागतमा कम गराउछ । यसले मझौला र साना किसान बर्गलाइ खेतिमा अभिप्रेरित गर्छ । जैविक मल र किटनाशक औसधि किसानले आफ्नो घरखेतमै बनाउन सक्छन ।

६. जैविक मल बनाउन जानेको किसानले भबिस्यमा सजिलै जैविक मलको व्यापार सुरु गरेर मनग्य आम्दानी कमाउन सक्छन ।

७. जैविक तवरबाट उत्पादीत उत्पादनको माग र बजार भाउ पनि बड्दो भएकाले यो व्यबसाय भबिस्य हो भनेर पनि बुझ्न सकिन्छ ।

जैविक खेती कसरी गर्ने ?

सर्वप्रथम किसानले आफ्नो खेतको माटो परिक्षण गर्नुपर्छ । नेपालमा यो काम कृषि बिभाग हरिहरभवनको प्रयोगसालामा गर्न सकिन्छ ।यो परिक्षणले जमिनको स्वास्थ्य साथसाथै कमि भएको तत्वको जानकारी दिन्छ र भबिस्यमा किसानके आफुले कुन खाद्द प्रयोग गर्ने भन्ने जानकारी पाउन सक्छन ।

दोस्रो काम किसानले आफ्नै घरमा जैविक मल बनाउन पर्ने हुन्छ । जैविक मल बिरुवाका अवशेष , पशुको मलमुत्र आदीलाइ कुहाइएर बनाइने गर्छ । जैविक खाद बनाउन कम्तिमा ९० देखि १८० दिन लाग्न सक्छ । यसमा गोबर ग्यासबाट निस्केको लेदो , हरियो गोबर मल आदि पर्छन ।

गोबर मल बनाउन सर्वप्रथम १ मिटर चौडां, १ मिटर गहिरो , ५ देखि दस मिटर लामो खाडल खन्ने र त्यसमा प्लास्टिक फैलाउने , त्यसपछी बिरुवाका पात , अवसेषको
एक तह बनाउने । त्यसमाथी गोबर र मलमुत्रको पनि तह तह बनाएर राख्ने । गोबरलाइ हल्का ओसिलो बनाउन पानी राम्रोसंग छम्किन पर्छ । त्यसपछी माटो र गोबरले ढाकेर खाल्डोलाई बन्द गरिदिने र दुई तीन महिनामा यसलाइ चलाउने । यसरी बनाएको मल एकदमै राम्रो गुणस्तरको हुन्छ ।
यस्तो खाद बनाउन चाहिने चिजहरु निम्न छन
१.गोबर
२.निम पत्ता
३.खेती अवशेष
४.तरकारी आदीका कुहिने फोहोर
जैविक मलका लागि गड्यौली मल पनि बनाउन सकिन्छ ।

जैविक किटनाशक कसरी बनाउने तरिका :-

आवश्यक समाग्री
१.एउटा माटोको भाडो
२.१ किलो निमको पत्ता
३.१ किलो आँखको पत्ता
४. १ किलो सख्खर
५.१ किलो गोबर
६.२५० ग्राम बेसन
७.८ लिटर गौमुत्र

सबैभन्दा पहिले आँख र निमको पत्तालाइ छोटो छोटो बनाएर काट्ने । माटोको भाँडोमा गौमुत्र हाल्ने र सोही भाँडोमा गोबर , बेसन , सख्खर र माटो मिलाएर घोल बनाउने । त्यसपछी माटोको भाँडोको घोलमा टुत्रा पारिएको पत्तालाइ मिसाएर ढक्कन लगाएर कपडाले बाहिरबाट राम्रोसंग बाध्ने जसले ग्यास बाहिर आउन नदिओस । भाँडोलाइ ७ दिनसम्म छाँयामा राख्ने ।

७ दिनपछि भाँडोबाट घोल निकालेर एउटा कपडाले छान्ने र तरल पदार्थलाइ बोतलमा भर्ने ।

यसरी नै फेरि गौमुत्र मिलाएर भाँडोलाई ७ दिनसम्म राख्ने र फेरि पनि माथी जस्तै तरल पदार्थ कपडाले छानेर निकाल्ने । यो विधि ६ पटकसम्म गर्न सकिन्छ ।

पहिलो पटक निकालेको एक लिटर किटनासक झोल ८० लिटर पानीमा मिसाएर बिरुवामा छर्न सकिन्छ भने दोस्रो ,तेस्रो पटक निकालेका १ लिटर झोल क्रमस ६०,४० लिटर पानीमा मिसाएर प्रयोग गर्न सकिन्छ ।

यसरी प्रयोग गरिएको जैविक मल र किटनाशक औषधि पर्यावरण मैत्री हुनुका साथसाथै सस्तो र भरपर्दो पनि हुने भएकाले सम्पुर्ण किसान बर्ग आर्गनिक खेतिमा अग्रसर हुन जरुरी छ ।

 

कृष्ण पौडेल . पक्लिहवा कृषि क्याम्पस भैरहवामा बि.एस्सि .एजि छैटौं सत्रान्तमा अध्यनरत छन ।

प्रतिक्रिया