गण्डकी प्रदेशबाट महासंघमा ढकाललाई सर्वसम्मत मतदान गर्ने

काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्ला नगर अध्यक्षहरुले वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानललाई मतदान गर्ने सर्वसम्मत निर्णय गरेका छन् ।
चुनावी प्रचारप्रसारको दौरानमा रहेको ढकाल प्यानललाई आइतबारसाँझ पोखरामा स्वागत गर्दै गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोइरालाले गण्डकी प्रदेशका १६ ओटै जिल्ला नगरका अध्यक्षहरुले ढकाल प्यानललाई मतदान गर्नेे निर्णय कार्यसमितिबाटै सर्वसम्मत रुपमा गरेको जानकारी दिए ।
महासंघको नेतृत्व गर्ने व्यक्ति हरेक हिसाबले सबल र समक्ष हुनुपर्ने भन्दै उहाँले अहिलेको अवस्थामा वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालको विकल्प नरहेको समेत बताए ।
कार्यक्रममा उपस्थित गण्डकी प्रदेशका १३ जिल्ला तथा नगरका अध्यक्षहरुले अहिलेको अवस्थामा वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र जिल्ला नगरतर्फको उपाध्यक्षमा गुणनिधि तिवारीलाई जिताउनु आफुहरुको दायित्व रहेको समेत बताए ।
‘वाग्लुङ जिल्लामा जन्मिएर सानो व्यवसायबाट सुरु गरी ठूलो व्यवसायसम्म सफलतापूर्वक संचालन गरिसक्नु भएका ढकाल र डेढ दशकदेखि जिल्ला नगरकै समस्यासँग जुध्दै आएका गुणनिधी तिवारीलाई नेतृत्वमा पाएको छौं,’ कार्यक्रममा उपस्थित जिल्ला नगरका अध्यक्षहरुले एउटै स्वरमा भन्नुभयो, ‘हामी उद्योगी व्यवसायीका समस्यालाई सरकारसँग राख्दै समस्या समाधानका लागि पनि ढकाल प्यानललाई जिताउनु जरुरी छ ।’
सो कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गत लमजुङ जिल्लाका अध्यक्ष राजेश थापा, बाग्लुङका अध्यक्ष युवराज राजभण्डारी, पर्वतका अध्यक्ष केदारनाथ शर्मा, स्याङजाका अध्यक्ष विक्रान्त श्रेष्ठ, पोखराका कार्यबाहक अध्यक्ष नारायण पराजुली, लेखनाथका अध्यक्ष बलराम ढकाल, देवचुलीका अध्यक्ष रेशमराज सापकोटा, नवलपुरका अध्यक्ष डासुराम पोखरेल, शुक्लागण्डकीका अध्यक्ष हरिकुमार श्रेष्ठ, गल्याङका अध्यक्ष यज्ञप्रसाद अर्याल, गैडाकोटका अध्यक्ष अमृत भट्टचन, वालिङका अध्यक्ष शोभाकान्त पौडेल र म्याग्दीको प्रतिनिधित्व गर्दै पूर्व अध्यक्ष कुविरकुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।
साथै उक्त कार्यक्रममा अन्य प्रदेशका पनि २० भन्दा बढी जिल्ला तथा नगरका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमा सबै उपस्थित जिल्ला नगरको अध्यक्षहरुको प्रतिनिधित्व गर्दै पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले यस अघि महासंघका आफ्ना साथीहरु कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारी र महासंघ केन्द्रीय सदस्य किशोर आचार्यको सवारी दुर्घटना हुँदा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल उद्दार कार्यमा खटिएर कुशल अविभाकत्व प्रदान गरिसकेको जानकारी दिँदै महासंघमा ढकाल प्यानलको विकल्प नभएको बताए ।
भेलालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले जिल्ला नगरका अध्यक्षहरुको गुनासोलाई सम्बोधन गर्दै आफु नेतृत्वमा पुगेपछि यसअघि देखिएका जिल्ला नगरका साथीहरुको गुनासो आगामी दिनमा आउन नदिने वचनबद्धता व्यक्त गरे ।
यस्तै कार्यक्रममा जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीले महासंघको विधानमा रहेको जिल्ला नगरको ५० प्रतिशत अधिकारको लागि पनि उक्त पदमा जिल्ला नगरकै प्रतिनिधित्व गर्ने व्यक्तिलाई जिताउनुपर्ने बताए ।
यसैगरी कार्यक्रममा महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले महासंघको खस्किएको साख उचो पार्दै व्यवसायीका समस्या समाधान गर्नकै लागि यसपटक चन्द्रप्रसाद ढकाल नेतृत्वको टीमलाई जिताउनु पर्ने बताए ।
कार्यक्रममा महासंघका कोषाध्यक्ष निरक केसी, केन्द्रीय सदस्य डीबी बस्नेतलगायले अहिलेको अवस्थामा महासंघ नेतृत्वमा रहेर व्यवसायीका समस्या समाधानका लागि चन्द्र ढकाल जत्तिको व्यक्ति अरु नभएकाले आफुले पनि समर्थन गर्दै अघि बढेको बताए ।

प्रतिक्रिया