काठमाडौँ—कोभिड–१९को कारण सबै क्षेत्रमा असर पुगेको छ । मुलुकको आर्थिक वृद्धिदर खुम्चिएको अवस्थामा रोजगार क्षेत्रमा पनि ठूलो प्रभाव परेको छ ।
उद्योगधन्दा बन्द, वैदेशिक रोजगारीबाट फर्केका, अनौपचारिक क्षेत्रमा काम गर्नेसहित करिब साढे १५ लाखले रोगारी गुमाएको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगले कोभिडले पारेको प्रभावका विषयमा तयार गरिएको प्रतिवेदनमा १५ लाख ६७ हजार जनाले रोजगारी गुमाएको उल्लेख छ ।
वैदेशिक रोजगारीसहित १ करोड ५९ लाख व्यक्ति विभिन्न प्रकारका रोजगारीमा आबद्ध थिए । तीमध्ये करिब ८.२ प्रतिशतले रोजगारी गुमाएको प्रतिवेदनमा उल्लेख छ ।
रोजगारी गुमाउने ३ लाख ५६ हजार अनौपचारिक क्षेत्रका छन् । औपचारिक क्षेत्रका १२ लाख ११ हजारले रोजगारी गुमाएको अनुमान छ । रोजगारी गुमाएकामध्ये १० लाख मानिस सहरबाट गाउँ फर्किएको अनुमान छ । ‘कोभिड–१९ पछि सहरमा प्रत्यक्ष रोजगारी गुमेकाले गाउँतर्फ इन्टरनल माइग्रेसन भएको र ग्रामीण क्षेत्रतर्फको रोजगारीमा आकर्षित भएको हुन सक्छ,’ प्रतिवेदनमा भनिएको छ ।
नेपालको रोजगारीका सन्दर्भमा कोभिड–१९ को प्रभाव आकलन गर्न नै समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ । रोजगारीलाई उत्पादनसँग कि तलबभत्तासँग जोडेर हेर्ने भन्ने अन्योलका कारण प्रभावको विश्लेषण गर्न समस्या परेको हो । वैदेशिक रोजगारीतर्फ विदेशमा रहेका नेपालीको अवस्थाका सम्बन्धमा समेत यथार्थ झल्कने चित्र पाउन नसकेको बताइएको छ ।
सामान्य अवस्थामा समेत उद्योगहरू सरदर ६० प्रतिशत क्षमतामा सञ्चालन हुने गरेका थिए । कोभिड–१९ महामारीपछि उद्योगहरूको क्षमता उपयोग करिब ३० प्रतिशतमा झरेको उल्लेख छ । ‘८० प्रतिशत घरेलु तथा साना उद्योग बन्द रहेको र वस्तु निर्यात गर्ने उद्योगको मागमा ९० प्रतिशतले कमी आएको थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘कुल कामदारमध्ये करिब १० प्रतिशतले मात्रै उद्योग सञ्चालन गरेको स्थिति रह्यो ।’
कोभिड–१९ ले गत आर्थिक वर्षमा मात्रै कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब २ खर्ब रुपैयाँ बराबरको क्षति गरेको सरकारी अध्ययन कार्यदलको प्रतिवेदनले देखाएको छ । योजना आयोगले गठन गरेको कार्यदलको प्रतिवेदनले २०७६र७७ मा उत्पादकको मूल्यमा १ खर्ब ९८ अर्ब रुपैयाँ बराबर जीडीपीमा क्षति पुगेको जनाएको हो ।