अमेरिकी निर्वाचनमा राष्ट्रपति ट्रम्पलाई धक्का

काठमाडौं–
अमेरिकी राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल ट्रम्पलाई धक्का लागेको छ । राष्ट्रपति निर्वाचनमा पूर्वउपराष्ट्रपति जो बाइडेनले ट्रम्पलाई कडा टक्कर दिँदै अग्रता दिएर जित नजिक पुगेका छन् ।

जितका लागि निकै महत्त्वपूर्ण मानिएका मध्यपश्चिमी दुई ‘ब्याटलग्राउन्ड’ राज्य मिसिगन र विस्कन्सन आफ्नो पक्षमा पारेसँगै बाइडेन जितको निकै नजिक पुगेका हुन् । तर हरेक मतको गणना नहुन्जेल स्थिति ‘तरबारको धारमा’ रहेको विश्लेषण पनि गरिँदै छ । ‘ब्याटलग्राउन्ड’ राज्यहरू एरिजोना, नेभादा, पेन्सलभेनिया, जर्जिया र नर्थ क्लारोलिनामा मतगणना जारी छ । जितका लागि २ सय ७० इलेक्टोरल कलेज भोट चाहिन्छ । बाइडेन एरिजोना र नेभाडा राज्यको मतगणनामा अगाडि छन् भने ट्रम्पले पेन्सलभेनिया, जर्जिया र नर्थ क्लारोलिनामा अग्रता लिइरहेका छन् । सीएनएनका अनुसार बिहीबार बेलुकासम्म बाइडेनले २ सय ५३ र ट्रम्पले २ सय १३ इलेक्टोरल कलेज भोट आफ्नो पक्षमा पारेका छन् ।

सन् १९९६ मा बिल क्लिन्टनको जितपछि डेमोक्य्राट उम्मेदवारका रूपमा बाइडेन एरिजोना राज्यमा जितनजिक छन् । त्यसैगरी, सन् १९९२ को क्लिन्टनको जितपछि कुनै उदारवादी उम्मेदवारले जित्न नसकेको रेड स्टेट जर्जियामा बाइडेनले ट्रम्पलाई कडा टक्कर दिइरहेका छन् । विजयी घोषणा लम्बिँदै गर्दा निर्वाचनको वैधानिकतामाथि प्रश्न उठाउन पनि थालिएको छ ।

विशेषगरी राष्ट्रपति ट्रम्प र उनको चुनावी अभियान टोलीले केही राज्यको सम्भावित परिणामलाई प्रभावित पार्ने नियतले रिट दायर गरिसकेका छन् । समाचार संस्था एपीका अनुसार ट्रम्पको निर्वाचन अभियानले चुनावमा धाँधली भएको दाबी गर्दै पेन्सलभेनिया, मिसिगन र जर्जियामा मतगणना स्थगित गर्नुपर्ने माग गर्दै रिट दायर गरेको हो । राष्ट्रपतिमा निर्वाचित हुन यी राज्यको मत परिणाम आफ्नो पक्षमा पार्न जरुरी देखिएको छ । पछिल्ला मतगणनामा डेमोक्रेटिक पार्टीका जो बाइडेनले अग्रता लिन थालेपछि ट्रम्पका तर्फबाट उजुरी गरिएको हो । उजुरीमा मतपत्र राखिएका स्थान र मतगणना स्थलसम्म आफ्ना प्रतिनिधिको पहुँच सुनिश्चित गर्न माग गरिएको छ ।

ट्रम्प अभियानले धाँधलीको आरोप लगाएको मिसिगनको एक मतगणना स्थलमा भने दुवै पक्षका प्रतिनिधिहरूको रोहबरमा गणना भइरहेको एपीले जनाएको छ । मिसिगनमा डेमोक्य्राटले जित हासिल गरेको जनाइएको छ । औपचारिक घोषणा भने भइसकेको छैन । ट्रम्पले आफूअनुकूल रहेको अमेरिकी सर्वोच्च अदालतमा जाने धम्कीसमेत दिइसकेका छन् । ट्रम्पका चुनावी उपव्यवस्थापक जस्टिन क्लार्कले चुनाव भएको तीन दिनभित्र हुलाकबाट प्राप्त भएका मतपत्र गणना गर्ने वा नगर्ने भन्ने विषयले अन्योल बढाएको उल्लेख गर्दै यसको निरूपण अदालतबाट हुने बताएका छन् । राष्ट्रपति ट्रम्पले हुलाकबाट प्राप्त हुने मतपत्रमार्फत चुनावमा धाँधली हुने भन्दै आफू कानुनी बाटो रोज्न पछि नपर्ने बताएका छन् । ट्रम्पको चुनावी अभियानले विस्कन्सिन राज्यमा पुनः मतगणनाका लागि आग्रह गरिनेसमेत जनाएको छ । ट्रम्पका चुनावी व्यवस्थापक बिल स्टेपियानले विस्कन्सिन राज्यमा धेरै अनियमितता भएको दाबी गरे पनि कहाँ र कसरी धाँधली भयो भन्नेबारे उल्लेख गरेका छैनन् ।

यस पटक निर्वाचन र मतदानको संरचनालाई कोभिड–१९ ले अत्यधिक प्रभावित गर्दा परिणाम घोषणामा ढिलाइ भएको हो । कोभिड–१९ लाई ख्याल गर्दै मतदान सहज बनाउन धेरै कानुनी प्रक्रियालाई परिमार्जन गरियो । मतदानको तौरतरिकामा व्यापक फेरबदल गरियो । ब्याटलग्राउन्ड मानिएको पेन्सलभेनियामा शुक्रबारसम्म प्राप्त हुने मतलाई समेत मान्यता दिने गरी कानुन परिमार्जन गरिएको छ । चुनावी दिनमा खसेका मतको गणना विद्युतीय प्रविधिले केही घण्टामै गर्न सक्छ । चार वर्षअघिको निर्वाचनमा ‘अर्ली भोटिङ’ अन्तर्गत साढे चार करोड हाराहारी मतदान भएको थियो । यस पटक यो तथ्यांक करिब दस करोड हाराहारी पुग्यो । जसमा साढे ६ करोड मत हुलाकबाट पठाइएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा न्यूओर्कबाट दिनेशजंग शाहले लेखेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय