मुलुकको अर्थतन्त्र संकटमा, कोरोनाले नेपालको जीडीपीमा २ खर्ब क्षति

काठमाडौं–कोभिड–१९ ले गत आर्थिक वर्षमा मात्रै कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब २ खर्ब रुपैयाँ बराबरको क्षति गरेको सरकारी अध्ययन कार्यदलको प्रतिवेदनले देखाएको छ । योजना आयोगले गठन गरेको कार्यदलको प्रतिवेदनले २०७६र७७ मा उत्पादकको मूल्यमा १ खर्ब ९८ अर्ब रुपैयाँ बराबर जीडीपीमा क्षति पुगेको जनाएको हो । ‘अध्ययन कार्यदलले योजना आयोगलाई प्रतिवेदनको मस्यौदा बुझाइसकेको छ,’ आयोगका उपाध्यक्ष पुष्प कँडेलले भने, ‘आयोगको बैठकमा पेस गरेर केही दिनमा प्रतिवेदन सार्वजनिक गर्छौं ।’

आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेललाई प्रतिवेदन पेस गर्ने तयारी छ ।
चैत ११ देखिको देशव्यापी लकडाउन र असारको आंशिक खुलाले अर्थतन्त्र ऋणात्मक हुने अनुमान भइरहेका बेला सरकारी अध्ययन टोलीले ०.६ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । असारदेखि आंशिक रूपमा खोलिएको बजारको प्रभावस्वरूप आर्थिक वृद्धि ऋणात्मक नहुने अध्ययन प्रतिवेदनको अनुमान हो । वास्तविक तथ्यांक भने आगामी वैशाखमा केन्द्रीय तथ्यांक विभागले प्रकाशन गर्नेछ । विभागले जेठदेखि बजार खुला भएको अवस्थामा २.२८ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण आचार्यले लेखेका छन् ।

सरकारले ८.५ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य उक्त आर्थिक वर्षको बजेटबाट तय गरेको थियो । ‘कोभिड–१९ नभएको भए आधारभूत मूल्यमा ६.२ प्रतिशतको आर्थिक वृद्धि हुने थियो । कोभिड–१९ को असर जेठमै समाप्त भइदिएको भए २.३ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरिएको थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘तर त्यो नभएर असारदेखि मात्रै खुला भएका कारण ०.६ प्रतिशत मात्रै वृद्धि हुने अनुमान हो ।’

यति हुँदा पनि कोभिड–१९ का कारण कुल गार्हस्थ्य उत्पादनमा ५.६ प्रतिशत बराबर क्षतिबेहोर्नुपरेको प्रतिवेदनमा उल्लेख छ । अध्ययनअनुसार कोभिड–१९ नभएको भए मुलुकको अर्थतन्त्रको आकार ३९ खर्ब ४ अर्ब ९६ करोड रुपैयाँ हुने थियो । तर कोभिड–१९ को असरले ३७ खर्ब ६ अर्ब ७७ करोड रुपैयाँमा मुलुकको अर्थतन्त्र संकुचित हुन पुगेको जनाइएको छ ।

कोभिड–१९ को संक्रमण फैलिनुअघि वैदेशिक रोजगारीसहित १ करोड ५९ लाख व्यक्ति विभिन्न प्रकारका रोजगारीमा आबद्ध थिए । तीमध्ये करिब ८.२ प्रतिशत अर्थात् १५ लाख ६७ हजार जनाले रोजगारी गुमाएको प्रतिवेदनमा उल्लेख छ । यसमध्ये पनि ३ लाख ५६ हजार अनौपचारिक क्षेत्रका छन् । औपचारिक क्षेत्रका १२ लाख ११ हजारले रोजगारी गुमाएको अनुमान छ । रोजगारी गुमाएकामध्ये १० लाख मानिस सहरबाट गाउँ फर्किएको अनुमान छ ।

सामान्य अवस्थामा समेत उद्योगहरू सरदर ६० प्रतिशत क्षमतामा सञ्चालन हुने गरेका थिए । कोभिड–१९ महामारीपछि उद्योगहरूको क्षमता उपयोग करिब ३० प्रतिशतमा झरेको उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय