काठमाडौं–विश्वको महाशक्ति राष्ट्र अमेरिकी राष्ट्रपतिको निर्वाचन आज हुँदै । विश्वले अमेरिकाको राष्ट्रपति को होला भनेर हेरिरहेको छ ।
अमेरिकी राष्ट्रपतिका बर्तमान राष्ट्रपति रहेका रिपब्लिकनका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो बाइडेन चुनावी मैदानमा छन् ।
निर्वाचनको तिथि नजिकिँदै गर्दा दुवै उम्मेदवारले महत्वपूर्ण राज्यहरुमा आफ्नो ध्यान केन्द्रित गरेका छन् । डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनलाई निर्वाचन सम्बन्धी विभिन्न सर्भेक्षणले ट्रम्पभन्दा अगाडि रहेको देखाएका छन् । नयाँ एक सर्भेक्षणका अनुसार राष्ट्रपति चुनावमा सबैभन्दा महत्त्वपूर्ण चार राज्यमा बाइडेन अगाडि रहेका छन् ।
गत निर्वाचन अर्थात् २०१६ मा भाग नलिएका र मंगलबारको निर्वाचनमा मत दिन अग्रसर रहेका मतदातालाई बाइडेन मन परेको उक्त सर्भेक्षणले देखाएको छ । न्युयोर्क टाइम्स तथा सियेना कलेजले गरेको मतदानको सर्भेक्षण अनुसार बाइडेन विस्कन्सिन, पेनसिल्भेनिया, फ्लोरिडा तथा एरिजोनामा ट्रम्पभन्दा अघि छन् । यसअघि दि टाइम्सले गरेको एक्जिटपोलमा पनि ७४ वर्षीय ट्रम्पलाई ७७ वर्षीय बाइडेनले उछिनेका थिए । अमेरिकाको मतदान प्रणाली अनौठो खालको छ । अहिलेसम्म ९ करोड मतदाताले मत दिइसकेका छन् । यस्तो मतले होइन, इलेक्टोरल मतका आधारमा राष्ट्रपति चुनिन्छन् ।
अन्तिम समयमा राष्ट्रपति ट्रम्पले आफ्नो ध्यान र ताकत पाँच राज्यमा लगाइदिएका छन् । लोवा, मिसिगन, नर्थ क्यारोलाइना तथा जर्जिया र फ्लोरिडामा उनी केन्द्रित हुन पुगेका छन् । चुनावी सर्भेक्षणले यी राज्यमा दुई उम्मेदवारबीच कडा टक्कर हुने देखाएका छन् ।
पछिल्लो समय अमेरिकामा नश्लीय विभेद बढेको छ । राष्ट्रपति ट्रम्पको राष्ट्रवादी चिन्तनले नश्लवादलाई प्रश्रय मिलेको बताउने विश्लेषक थुप्रै छन् । साथै, विश्व महामारी कोरोना नियन्त्रणको सन्दर्भमा पनि ट्रम्प आलोचित छन् ।