काठमाडौं–कोभिड–१९मा आम सर्वसाधारणलाई आकर्षक प्याकेज दिएर कोरोनाको बीमा गरएका बीमा कम्पनीले विमितलाई दुःख दिएका छन् । कोरोना संक्रमित भएर निको भैसक्दा पनि विमितले रकम पाएका छैनन् ।
विभिन्न बहाना बनाएर भुक्तानीमा अल्झाउँदै आएको पीडितको आरोप रहेकोछ । कोरोना बीमा मापदण्ड–०७७ मा आवश्यक कागजात पुगेका बिमितले एक साता भित्र नै भुक्तानी पाउनुपर्ने लेखिएको भए पनि कार्यान्वनयमा आएको छैन ।
कोरोनाको पोजेटिभ रिपोर्ट आएपछि भुक्तानी दिनुपर्ने नीतिगत व्यवस्था भए पनि विभिन्न बहाना बनाएर अल्झाएको पीडितको गुनासो छ । वीर अस्पतालमा कोरोनाको उपचार गरेर फर्किएका नुवाकोट प्रमोद सुवेदीले बीमा कम्पनीले रकम नदिएको बताए । उनले आवश्यकता कागजात सबै बुझाउँदा पनि बीमा कम्पनीले दुःख दिएको बताउँछन्।
गत साता १३ हजार ३ सय ५३ वटा बीमा भुक्तानीको दाबी परे पनि १ हजार ४ सय ४१ वटा भुक्तानी पाएको बीमा समितिले जनाएको छ । करिब १ अर्ब २८ करोड रुपैयाँ भुक्तानी दाबी गरे पछि १०.६४ प्रतिशतको मात्र भुक्तानी भएको छ ।
बिमा कम्पनीले अहिलेसम्म १ लाख ८१ हजार ७ सय ९५ वटा बिमालेख बिक्री गरेका छन् । विमितबाट बीमा कम्पनीहरूले १ अर्ब १ करोड ९१ लाख ७४ हजार ६ सय ८२ रुपैयाँ शुल्क उठाएका छन् ।
कागजी प्रक्रिया पुरा गरेर आएका विमितलाई भुक्तानी दिनुपर्ने बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं बताउँछन् । बिमा गरिसकेपछि कम्पनीहरूले जसरी पनि दाबी भुक्तानी दिनुपर्ने उनको भनाई छ ।
कागजी प्रक्रिया र विधि पुराउनु पर्ने भउकाले भुक्तानीमा ढिलाइ भएको बिमक संघका महासचिव चंकी क्षत्रीले स्वीकार गरे । संशोधित मापदण्डमा बिमा पुल (बिमक संघ) बाट मात्र दाबी भुक्तानी गर्न एकद्वार नीतिको व्यवस्था गरिएको छ । नयाँ मापदण्डअनुसार भुक्तानीका लागि स्थानीय निकायको सिफारिस चाहिने व्यवस्था गरिएको छ । यसअघि सरकारी अस्पतालमा गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको रिपोर्टका आधारमा भुक्तानी पाउने व्यवस्था थियो ।
गत भदौ २८ सम्म बिमा गरेकाहरूले पुरानै मापदण्डअनुसार ५० हजार र १ लाख रुपैयाँ दाबी भुक्तानी पाउनेछन् । गत भदौ २९ पछिका बिमितले भने घरमै आइसोलेसनमा बसेको भए २५ हजार र अस्पतालमा उपचार गराएको भए बढीमा ७५ हजार रुपैयाँसम्म मात्र भुक्तानी पाउने व्यवस्था छ ।