काठमाडौं– हरेक दसैंमा यातायात व्यवसायीका लागि भ्याइनभ्याई हुन्थ्यो । व्यवसायीहरुले प्रयाप्त यात्रु पाइने भएकाले नयाँ बस खरिद गर्ने । यो पालीको दसैंमा अरु क्षेत्र जस्तै यातायात व्यवसायीका लागि पनि निरस भएको छ ।
कोभिड–१९को कारण लामो समय ग्यारेजमा थन्किएका बस सञ्चालनमा ल्याए पनि यात्रु पाएनन् । कोभिडले महिनौंसम्म बैंकको किस्ता तिर्न नसकेका व्यवसायीले दसैंमा पनि यात्रु नपाए पछि थप मारमा परेका छन् । यातायात व्यवसायीको लगानी जोखिममा परेको छ ।
दसैंमा राजधानीमाबाट जिल्ला जाने र फर्किने यात्रुको संख्या नगन्य रहेको छ । कोभिड–१९ महामारीको त्रासले अधिकांसले राजधानीमा नै दसैं मनाए ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल विगतका वर्षमा आवतजावतको तथ्याङ्क जोडरघटाउमा उपत्यका छाड्ने खुद व्यक्ति झण्डै १० देखि १२ लाख हुने गरेकोमा यसपाली भने एक लाखको हाराहारीमा रहेको बताए ।
कोरोनाको कारण यसरी यात्रु आवागमनमा प्रत्यक्ष प्रभावित भएका हुन् । दसैँ सकिएपछि पनि उपत्यका भित्रिने यात्रुको संख्या बढ्न सकेको छैन । यही १३ गते २४ हजार यात्रु भित्रिएका छन् भने २० हजार बाहिरिएको विवरणले पनि उक्त कुराको पुष्टि गर्छ ।
पछिल्लो समयमा उपत्यकामा कोरोना सङ्क्रमणको उच्च जोखिम छ । मुलुकभर देखिएको कूल सङ्क्रमितमध्ये आधाभन्दा बढी उपत्यकामा रहेकाले पनि मानिस राजधानी आउन डराइरहेका जनस्वास्थ्य विज्ञको भनाइ छ ।
संख्यात्मक रुपमा विष्लेषण गर्दा यसवर्ष इतिहासमै पहिलो पटक मानिसको आवागमन न्यून भएको प्रहरीको दाबी छ । विसं २०७७ लाई छाड्दा २०७१ पछिको विवरणमा विसं २०७१ र २०७२ मा उपत्यकामा सबैभन्दा कम यात्रुको आवागमन भएको पाइन्छ ।
विसं २०७१ को दसैँमा ६५ हजार सवारी साधनमार्फत आठ लाख यात्रु बाहिरिएका र ५१ हजार सवारी साधानमार्फत पाँच लाख मानिस भित्रिएका थिए । यस्तै २०७२ सालमा ५९ हजार सवारी साधानमार्फत आठ लाख ३० हजार यात्रु बाहिरिएका र ५६ हजार सवारी साधनमार्फत पाँच लाख १६ हजार यात्रु भित्रिएका थिए । विसं २०७३ देखि २०७६ सम्म यात्रु भित्रिने र बाहिरिने अवस्था ह्वात्तै बढेको थियो ।
यसपाली भने सबै भन्दा कम यात्रुको चहलपहल देखियो । नयाँ संविधान निर्माण भई सङ्घीयता कार्यान्वयनको समयमा शान्ति प्रक्रिया टुङ्गोमा पुगेको र शान्तिरसुरक्षा अब्बल बन्दै गएकाले वातावरण सहज हुँदा यात्रुलाई एक ठाउँबाट अर्को स्थानमा जानआउन समस्या थिएन । तर यसपाली गत चैतबाट बढेको कोरोना महामारीले चाडबाडलाईसमेत नराम्ररी प्रभावित बनाएको तथ्याङ्कले देखाएको छ ।
प्रहरी प्रवक्ता कुबेर कडायत यसपालीको दसैँको बेलामा सवारीसाधन र यात्रुको आवातजावत कम हुँदा ठूला दुर्घटनासमेत नभएको बताउनुहुन्छ । बजारमासमेत चहलपहल कम हुँदा आपाराधिक घटनामा समेत कमि देखिएको उहाँको भनाइ छ ।
गतवर्ष र यसपालीका यात्रु आवागमन
यसपाली दसैँको समय कात्तिक १३ गतेसम्मको विवरणमा ५१ हजार ५९४ सवारी साधानमार्फत दुई लाख तीन हजार यात्रु काठमाडौँ भित्रिएका छन् । काठमाडौँबाट भने ५८ हजार सवारी साधानमा झण्डै तीन लाख यात्रु बाहिरिए । यो विगत वर्षको भन्दा अत्यन्तै न्यून आवागमन हो । विगतमा सवारीसाधनको सङ्ख्या बराबर यसपाली यात्रुको सङ्ख्या देखिएको छ ।
गत आर्थिक वर्ष २०७६र७७ को दसैँका अवधिमा तीन लाख ५९ हजार सवारीसाधनबाट ३० लाख मानिस काठमाडौँ छाडेर बाहिरिएका थिए । उक्त साल तीन लाख ३५ हजार सवारीमार्फत १८ लाख ३५ हजार मानिस भित्रिएका थिए । महाशाखा प्रमुख ढकालले कोभिड(१९ का कारण दसैँ लाग्नु अघि नै मानिस उपत्यका छाडिसकेको र दसैँमा सङ्क्रमणको डरले पनि आवागमन नगरेको पाइएको बताए । कतिपय घर कोठामै बसेर दसैँ मनाइरहेका छन् ।
यसपाली कोरोनाकै कारण चाडबाडसमेत खल्लो भएको छ । गाउँमा रौनक देखिएको थिएन भने सकेसम्म मानिस आफन्तको हातबाट टीका थाप्नसमेत गएनन् । कतिपयले प्रविधिको प्रयोग गरी आशिर्वाद लिएका छन् । पर्यटन व्यवसायी रमेश सिलवाल यसपाली सावधानी अपनाएरै दसैँ मनाएको अनुभव सुनाए ।
हुन त सरकारले नै जो जहाँ छौँ त्यहीँ बसेर दसैँ मनाउन सार्वजनिक अपिल नै गरेको थियो । सामाजिक सञ्जालमा सर्वसाधारणले कोडिभबाट जोगिएर दसैँ मनाउन अनुरोध गर्दै स्टयाटस सार्वजनिक गरेका थिए । अधिकांशले भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्डको प्रयोग गर्दै दसैँ मनाएका भए पनि कतिपय सर्वसाधारण दसैँ मान्न घर पुगेका थिए । जसका कारण गाउँगाउँमा कोभिड को सङ्क्रमण बढ्ने आशङ्का कायमै छ । (रासस)