१२ मन्त्रीको सम्पत्ति गुपचुप, यी हुन् सम्पत्ति विवरण सार्वजनिक नगर्ने मन्त्री

काठमाडौं–सार्वजनिक पद धारणा गरेका व्यक्तिले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भए पनि मन्त्रिपरिषद्का बहुमत मन्त्रीले नै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको २२ सदस्यीय क्याविनेटका १२ मन्त्रीले आफ्नो सम्पत्ति गुपचुप राखेका छन् ।

प्रधानमन्त्रीदेखि राज्यमन्त्रीसम्मले सपथ खाएपछि आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेभसाइटमा सार्वजनिक गर्नुपर्ने भए पनि नौ मन्त्री र तीन राज्य मन्त्रीको सम्पत्ति सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को वेबसाइटमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित १० जना मन्त्रीको मात्र सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । १२ मन्त्रीको सम्पत्ति प्राप्त भएको उल्लेख छ । तर, वेभसाइटमा राखिएको छैन । मन्त्रीको सम्पत्ति आम नागरिकले थाहा पाउनु पर्ने भएकाले वेभसाइटमा राख्नुपर्छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसाल, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश कुमार भट्टराई, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री बसन्त कुमार नेम्बाङ, कानुन, न्याय तथा संसदीय मालिका मन्त्री डा.शिवमाया तुम्बाहाङफे, महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठको सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको वेभसाइटमा सम्पत्ति विवरण प्राप्त भएको लेखिएको भए पनि बाहिर सार्वजनिक गरिएको छैन । राज्य मन्त्री उद्योग वाणिज्य तथा आर्पूति राज्य मन्त्री मोतीलाल दुगड, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत सहरी विकास राज्य मन्त्री रामवीर मानन्धरको सम्पत्ति विवरण गुपचुप राखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित १० मन्त्रीको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को वेभसाइटमा राखिएको भए पनि १२ मन्त्री तथा राज्य मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया