काठमाडाैं - नेपाल आयल निगम लिमिटेडले मंगलबार रातिबाट लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको छ।
त्यसैगरी, आन्तरिक हवाई इन्धन एक रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धन सात डलर प्रतिलिटरले वृद्धि गरेको छ।
मूल्य घटेपछि काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेल समान एक सय ५९ रुपैयाँ प्रतिलिटर कायम भएको छ। आन्तरिक हवाई इन्धन एक सय ३६ रुपैयाँ र बाह्य हवाई इन्धन १.०३५ डलर प्रतिलिटर पुगेको छ।
निगम प्रवक्ता मनोज ठाकुरका अनुसार मंगलबार दिउँसो इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल ०.०२ रुपैयाँ र डिजेल २.४५ रुपैयाँ प्रतिलिटर घटेर आएकाले नेपाली बजारमा मूल्य समायोजन गरिएको हो।
हवाई इन्धनको मूल्य भने प्रतिलिटर १.१८ रुपैयाँ प्रतिलिटर बढेर आएको प्रवक्ता ठाकुरले जानकारी दिए।
निगमले पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।