काठमाडौं–उद्योगी व्यवसायीले बैंकको व्याजदर महंगो भएको गुनासो गर्दै आएको बेला अहिले बैंकहरुले कर्जाको व्याजदर घटाएका छन् । कोरोनाको कारण अर्थतन्त्र थला परेपछि लगानी गर्ने ठाउँ नभएपछि बैंकले ग्राहक तान्न व्याजदर घटाएका हुन् ।
अहिले कायम भएको व्याजदर पाँच वर्ष यताकै सस्तो भएको बैंकरले बताएका छन् । वाणिज्य बैंकको व्याजदर औसतमा ७.८३ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौ मसान्तमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १०.१८ प्रतिशत र निक्षेपको भारित औसत ब्याजदर ५.६१ प्रतिशत रहेको छ । यसका आधारमा औषत व्याजदर ७.८३ प्रतिशत हुन आएको हो । बैंकले कर्जाको व्याजदर मात्र नभएर निक्षेपको व्याजदर घटाएका छन् ।
नेपाल बैंकर्स संघको पहलमा वाणिज्य बैंकहरुले बचतमा ७ प्रतिशत र मुद्दतीमा ९.५ प्रतिशत ब्याजदरको सीमा तोकेका थिए । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिषंघलगायतका निजी क्षेत्रका संस्थाले बैंकको व्याज सिंगल डिजिटमा झार्नुपर्ने माग गरिरहेका बेला व्याजदर घटेको हो । कोभिडको कारण उद्योगी, व्यवसायीले नयाँ परियोजनामा लगानी गर्न डराईरहेका छन् ।
लगानी विस्तार नहुँदा बैंकमा निक्षेप जम्मा भएर नयाँ क्षेत्रमा लगानी विस्तार गर्न पाएका छैनन् । लगानी नभएपछि बैैंकहरुले कर्जाको मात्र नभएर निक्षेपको व्याज घटाएका छन् । कर्जाको व्याज घटाउँदा ऋण लिनेलाई लाभ भए पनि निक्षेपको व्याज घटाउँदा बचतकर्ता मारमा परेका छन् । कोभिडको कारण तरलता (कर्जायोग्य रकम) बढेको भन्दै निक्षेप र कर्जा दुवैको व्याज घटाउनु परेको वैंकरहरु बताउँछन् । कर्जाको माग घटे पछि बैंकमा तरलता थुप्रिएको छ ।
ग्लोबल आइएमई बैंकको ७.९९ देखि १३.९९ प्रतिशतसम्म, एसविआई बैंकको ८.३९देखि १३.४९ प्रतिशत, बैंक अफ काठमाण्डूले ९.४९ देखि १२.९८ प्रतिशत, सिद्धार्थ बैंकको ८.९९ प्रतिशतदेखि ११.९९ प्रतिशत, सेन्चुरी बैंककोे ११.४९ देखि १२.९९ प्रतिशतसम्म ब्याज रहेको छ । त्यसैगरी, सानिमा बैंकको ८.२५ प्रतिशतदेखि १३ प्रतिशतसम्म, कृषि विकास बैंकको ९.७५ देखि साढे १२ प्रतिशत, प्राइम बैंकको साढे १० देखि साढे १२ प्रतिशतसम्म, नेपाल बंगलादेश बैंकको ९.९९ प्रतिशतदेखि १२.९९ प्रतिशत व्याजदर रहेको छ । त्यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंकको व्याजदर १०.७५ देखि १३.७५ प्रतिशतसम्म, नेपाल इन्भेष्टमेन्ट बैंकको ७.९९ प्रतिशतदेखि १३ प्रतिशतसम्म, एनएमबि बैंकको ९.४९ प्रतिशतदेखि १३.९९ प्रतिशतसम्म, राष्ट्रिय वाणिज्य बैंकको साढे ९ देखि ११ प्रतिशतसम्म, नेपाल बैंकको ९.३५ देखि १३.९३ प्रतिशतसम्म ब्याज निर्धारण गरेका छन् ।
२०७४ साल असार मसान्तसम्म निक्षेपकर्ताको व्याजदर ६.१५ प्रतिशत थियो । निक्षेपको व्याजदर १३ प्रतिशतसम्म पुगेकोमा अहिले खुम्चिएको छ । बैङ्कहरुको बेस रेट पनि न्यून छ । असार मसान्तसम्म बैङ्कहरुको आधारदर (बेस रेट) साढे ८ प्रतिशत थियो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०७७ भदौमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.५ प्रतिशत, ३२.६ प्रतिशत र ५०.९ प्रतिशत रहेको छ । पोहोर यस्तो अंश क्रमशः ७.९ प्रतिशत, ३२.५ प्रतिशत र ४८.३ प्रतिशत रहेको थियो ।