काठमाडौं– पूर्व नेकपा एमाले र माओवादी समूहबीच झडप हुँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साका एक नेताको मृत्यु भएको छ । एक जना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा नेकपा विन्दावासनी गाउँपालिकाका पार्टी सचिव मुकेश चौरसिया रहेको छन् । उनको उपचारको क्रममा मृत्यु भएको नेकपा पर्साले जनाएको छ ।
अर्का घाइते उत्तम तिवारीको उपचार भइरहेको छ । नेकपा पर्साले विन्दवासनी गाउँपालिकामा बिहीबार आयोजना गरेको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच झडप हुँदा घाइते भएका थिए ।
पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले परसौनीभाठा बस्ने मुकेश चौरिसयाको उपचारको क्रममा मृत्यू भएको जानकारी दिए । यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कार्यलय पर्साले जिल्ला कमिटी सदस्य तथा विन्दावासिनी गाउँपालिका कमिटिका सचिव चौरासियामाथि हमला गरी हत्या गर्नेहरुलाई कडा कारवाही गर्न माग गरेको छ ।
शुक्रबार जिल्ला कमिटी पर्साले विज्ञप्ति जारी गर्दै हत्यामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने, मुकेस चौरासियालाई शहिद घोषणा गर्नुपर्ने, घाइतेहरुलाई क्षतिपूर्ति र निःशुल्क उपचार गर्नुपर्ने माग गरेको हो ।