महासंघमा ढकाल प्यानलको उम्मेदवारी दर्ता

काठमाडौं—
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । आगामि मंसिर ११देखि१३ गतेसम्म काठमाडौंमा हुने महासंघको ५४औं वार्षिक साधारण सभा तथा निर्वाचन हुँदैछ ।
आइएमई ग्रुपका अध्यक्ष समेत रहेका ढकालको नेतृत्वमा उनको प्यानलका तीनै जना उपाध्यक्षले बुधबार महासंघको केन्द्रीय कार्यालय टेकू पुगेर उम्मेदवारी दर्ता गरएका हुन् । ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघईले पनि उम्मेदवारी दर्ता गरेका छन् ।
कोभिड–१९को कारण महासंघको निर्वाचन सर्दै आएको छ । साधारण सभा पछि महासंघका अहिलेका वरिष्ठ उपाध्यक्ष शेरख गोल्छा स्वतः अध्यक्ष हुनेछन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष हुने पदाधिकारी अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ ।
महासंघक निर्वाचनमा अर्का उपाध्यक्ष किशोर प्रधानले पनि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
उम्मेदवारी दर्ता पछि बोल्दै ढकालले कोभिड–१९बाट उत्पन्न व्यवसायिक समस्या समाधान गर्न पहल गर्ने बताए । उनले मुलुकको आर्थिक सम्मृद्धिमा निजी क्षेत्रलाई सशक्त बनाउन आफूले उम्मेदवारी दिएको दाबी गरे । ‘कोभिडको कारण अर्थतन्त्रका सबैजसो अवयवहरु क्षतविक्षत भएका छन्,’ ढकालले भने, ‘संकटमा परेका व्यवसाय र व्यवसायीलाई जोगाउने मेरो पहिलो दायित्व हुनेछ ।’
मुलुकको समग्र अर्थतन्त्रलाई बचाउन, विकास र सम्मृद्धिमा सरकारसँग हातेमालो गरेर अघि बढ्न उम्मेदवारी दिएको उनले बताए । ‘म सँग साना देखि ठूला व्यवसायसम्मको अनुभव,’ ढकालले भने, ‘व्यावसायिक वातावरण बनाउन भूमिका खेल्छु ।’

प्रतिक्रिया