काठमाडौं । कुनै समय लगानीकर्ताका लागि सुरक्षित र आकर्षक क्षेत्र मानिएको निर्जीवन बीमा व्यवसाय अहिले गम्भीर दबाबमा परेको देखिएको छ । आर्थिक सुस्तता, सामाजिक–राजनीतिक अस्थिरता तथा प्राकृतिक विपत्तिका कारण निर्जीवन बीमा कम्पनीहरूको नाफा उल्लेख्य रूपमा घटेको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार १४ निर्जीवन बीमा कम्पनीहरूको समग्र खुद नाफा ४७.२३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी नाफा कमाएका कम्पनीहरूले यस वर्ष जम्मा १ अर्ब २७ करोड १९ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेका छन् ।
विशेषगरी पछिल्लो समय देखिएको ‘जेन–जी’ आन्दोलनका क्रममा भएका सवारी साधन तोडफोड, आगजनी तथा मनसुनजन्य बाढी–पहिरोका कारण दाबी भुक्तानीको चाप अत्यधिक बढेको बीमा क्षेत्रको निष्कर्ष छ । दाबी रकम बढ्दै जाँदा कम्पनीहरूको नाफा संकुचित भएको देखिएको हो ।
यस प्रतिकूल अवस्थाबीच ओरिएन्टल इन्स्योरेन्स सबैभन्दा बढी नाफा कमाउने कम्पनी बनेको छ । अघिल्लो वर्ष घाटामा रहेको कम्पनीले यस वर्ष ३० करोड ६६ लाख रुपैयाँ नाफा कमाउँदै उल्लेखनीय सुधार गरेको छ ।
त्यस्तै राष्ट्रिय बीमा कम्पनी २८ करोड ८९ लाख रुपैयाँ नाफासहित दोस्रो स्थानमा रहेको छ भने प्रभु इन्स्योरेन्स २१ करोड १५ लाख रुपैयाँ नाफासहित तेस्रो स्थानमा पुगेको छ ।
अर्कोतर्फ केही कम्पनीहरूको अवस्था कमजोर देखिएको छ । नेसनल इन्स्योरेन्स १७ करोड ६४ लाख रुपैयाँ घाटामा गएको छ भने युनाइटेड अजोड इन्स्योरेन्सले पनि ६ करोड ९७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।
नाफा वृद्धिदरतर्फ हेर्दा पनि अधिकांश कम्पनी नकारात्मक अवस्थामा पुगेका छन् । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ९९.८३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष २६ करोडभन्दा बढी नाफा कमाएको कम्पनीले यस वर्ष जम्मा ४ लाख रुपैयाँ मात्रै नाफा देखाएको छ ।
त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ९१ प्रतिशतभन्दा बढीले घटेको छ भने शिखर इन्स्योरेन्स र सानिमा जीआईसी इन्स्योरेन्सको नाफामा पनि ठूलो गिरावट आएको छ ।
बीमा विज्ञहरूका अनुसार राजनीतिक आन्दोलन, सडक प्रदर्शन तथा प्राकृतिक विपत्तिको प्रत्यक्ष आर्थिक असर निर्जीवन बीमा कम्पनीहरूमा पर्ने गर्छ । दाबी भुक्तानी बढ्दै जाँदा व्यवसाय विस्तार सुस्त भएपछि कम्पनीहरूको वित्तीय अवस्था कमजोर बनेको हो ।
विश्लेषकहरूले बढ्दो सामाजिक तथा वातावरणीय जोखिमलाई ध्यानमा राख्दै निर्जीवन बीमा कम्पनीहरूले जोखिम मूल्यांकन, पुनर्बीमा रणनीति र दाबी व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।