सरकारले असोज १ गतेदेखि लामो दूरीको यातायात खोले पनि यात्रु नपाउँदा व्यवसायी चिन्तित भएका छन् । दसैं नजिकिँदै जाँदा प्रत्येक वर्ष प्रायः असोज पहिलो सातादेखि अग्रिम टिकट खुल्ने गरे पनि अहिले यात्रु नपाउँदा व्यवसायी अन्योलमा छन् ।
सरकारले कोरोना नियन्त्रणका लागि चैत ११ देखि गरेको बन्दाबन्दीपछि लामो दूरीका सार्वजनिक यातायात १ असोजदेखि सिट क्षमताभन्दा आधा यात्रु राखेर चलाउन दिने निर्णय सरकारले गरेको थियो ।
सिट क्षमताभन्दा आधा मात्र यात्रु राख्न पाउने भएपछि सरकारले नै ५० प्रतिशत भाडा बढाइदियो । उक्त निर्णयपछि धराशयी यातायातमा केही राहत पुग्ने अपेक्षाका साथ व्यवसायीले बिग्रिसकेका गाडी निकालेर चलाए । यद्यपि, व्यवसायीले सिट क्षमताभन्दा आधा यात्रु पनि नपाएको बताएका छन् ।
बसमा ५० प्रतिशतसम्म भाडा वृद्धि गरेर आधा यात्रु मात्र राख्न दिने तर साविककै भाडामा पूरा यात्रु राखेर हवाई उडान अनुमति दिँदा बसका यात्रु पनि हवाई यात्रामा आकर्षित भएको व्यवसायीको निष्कर्ष छ । (आर्थिक अभियान)