कोरोना नियन्त्रणमा चिनियाँ मोडलको फाइदा लिन सकेन नेपालले

काठमाडौं । पछिल्लो समय नेपालमाथि लाग्ने गरेको आरोप हो– चीनसँगको निकटता  ।

अर्को छिमेकी भारतको मात्र नभएर शक्ति राष्ट्र अमेरिका र युरोपेली देशको मूल्यांकन पनि यही हो  । नेपालको आन्तरिक राजनीतिमा पनि यो बहसको विषय बन्ने गरेको छ  । चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभमा आबद्धतासँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले समेत चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक विचारलाई पछ्याइरहँदा नेपालमाथि लाग्ने गरेको आरोप सत्यको निकट पनि देखिन्छ  ।

सत्तारुढ नेकपाले चिनियाँ कम्युनिस्ट पार्टीले दिने प्रशिक्षण ग्रहण गर्नेदेखि सरकार स्वयंले पनि चीनसँगको सम्बन्धलाई प्राथमिकता दिइरहेको अवस्था छ  । पछिल्लो समय नेपालको आन्तरिक र सत्ता राजनीतिमा चिनियाँ राजदूतको सक्रियताले पनि यो कुरामा अझ बल पुगिरहेको छ । चीन–नेपाल सम्बन्धको निकटतालाई पुष्टि गर्ने अर्को एउटा विषय परराष्ट्र मन्त्रालयले हङकङका विषयमा चीनलाई समर्थन गर्दै जारी गरेको विज्ञप्ति पनि हो । अरूको आन्तरिक विषयमा खासै टिप्पणी नगर्ने नेपालले हङकङ मामिलामा चीनलाई खुलेरै समर्थन गर्‍यो । यस विषयमा अमेरिका र युरोपेली मुलुकहरूको मतभिन्नता रहँदै आएको छ ।

भारतसँग सीमा विवादलगायत कतिपय कारण तथा अमेरिकासँग गत वर्ष सत्तारुढ नेकपा नेतृत्वले भेनेजुयला, क्युवाका विषयमा दिएका अभिव्यक्ति र हाल एमसिसि कार्यान्वयनमा भइरहेको ढिलाइका कारण सम्बन्धमा चिसोपन देखिँदै आएको छ । संक्रमणकालीन न्याय निरूपणमा देखिएको ढिलासुस्तीका कारण युरोपेली मुलुक पनि नेपालसँग सन्तुष्ट देखिँदैनन् ।

कोरोनाबाट सुरुमै प्रभावित बनेको चीन अहिले सामान्य अवस्थातर्फ उन्मुख छ । यसो हुनुको मुख्य कारण चीनले अपनाएको पर्याप्त सावधानी र संक्रमितको सही व्यवस्थापन हो ।

नेपाल र चीनबीच छिमेकी सम्बन्धबाहेक सत्तारुढ दलबीचको वैचारिक निकटता र सरकारी तहमा पनि सहकार्य भइरहँदा कोरोना नियन्त्रणमा भने नेपालले चिनियाँ मोडेल पछ्याउन सकिरहेको छैन । चीनले कोरोनासँग लड्न नेपालसँग सहकार्य र सहयोग गर्न तयार रहेको बताइरहँदा नेपालमा भने संक्रमण दिनदिनै बढ्दै गइरहेको छ ।

प्रतिक्रिया