• गृहपृष्ठ /
  • Breaking News ,
  • अन्तर्राष्ट्रिय ,
  • मुख्य खबर ,
  • समाचार ,
  • स्वास्थ्य

कोरोनविरुद्धको खोपको प्रभाव अवधि कति हुन्छ ? के जीवनभर सुरक्षा दिन्छ त ?

एजेन्सी । कोरोना संक्रमणलाई निको पार्ने खोप कहिले आउँछ ? अहिले सबैको प्रश्न र चासो यहि हो ? योसंगै अर्को पनि प्रश्न थपिएको छ, यदी कोरोना भाइरसविरुद्धको खोप आइहाल्यो भने पनि त्यसले हामीलाई कहिलेसम्म सुरक्षित राख्न सक्छ ? एक पटक खोप लगाएपछि जीवनभर सुरक्षित भइन्छ त ?

कोरोना भाइरसविरुद्धको खोप विकासमा लागिरहेका विश्वभरका वैज्ञानिकहरुका बीचमा पनि यो प्रश्नले प्रवेश पाएको छ । यसैबीच रुसले विकास गरेको दोस्रो खोप बारे निकै खुसीको खबर आएकोे छ । दोस्रो खोप विकास गर्ने रुसको भेक्टर स्टेट रिसर्च सेन्टर अफ भायरोलोजी एण्ड बायोटेक्नोलाजीको जुनोटिक रोग तथा फ्लू विभागका प्रमुख अलेक्जेण्डर राइजिकोभले यो दोस्रो खोपले शरीरलाई ६ महिनासम्म कोरोना भाइरससंग लड्न सक्ने प्रतिरक्षा शक्ति दिने ग्यारेन्टी गरेका छन ।

उनले भने, “कोरोना भाइरसविरुद्धको खोपले जीवनभर सुरक्षा दिंदैन । तर आवश्यकता अनुसार खोप दिने कामलाई दोहोर्याउन सकिन्छ ।” उनका अनुसार यो खोपले कोरोना भाइरसको स्वरुप बदल्ने र संख्या बढ्ने प्रकृयाकै बीचमा प्रतिरक्षात्मक प्रतिकृया उत्पन्न गराउँछ । यसैले मानिसलाई संक्रमण हुन दिंदैन र संक्रमण भैसकेको अवस्थामा पनि निको बनाउँछ ।

यो खोप प्रि क्लिनिकल स्टडिज र क्लिनिकल स्टडिजका क्रममा सुरक्षित सावित भएको राइजिकोभले बताए । यो खोपले २१ जुलाईमा क्लिनिकल ट्रायलको अनुमति पाएको थियो । २७ जुलाईमा स्वयंसेवकहरुको पहिलो समुहलाई खोप दिइएको थियो । यो परीक्षण ३० सेप्टेम्बरसम्म चल्ने बताइएको छ ।

अहिलेसम्म ५७ जना स्वयंसेवकहरुलाई यो खोप दिइसकिएको छ । कसैमा पनि कुनै खराब असर देखिएको छैन । उनीहरुलाई २३ दिनसम्म अस्पतालमा भर्ना गरी राखिएको थियो । अहिले उनीहरु सबै स्वस्थ छन । अक्टोबरसम्म रजिस्ट्रर गरिने र नोभेम्बरबाट यो खोपको उत्पादन सुरु हुने राइजिकोभले आशा ब्यक्त गरे । रुसले विकास गरेको दोस्रो खोपको नाम ‘एपिभेककोरोना’ राखिएको छ ।

यो खोपलाई रुसको भेक्टर स्टेट रिसर्च सेन्टर अफ भायरोलोजी एण्ड बायोटेक्नोलाजीले विकास गरेको हो । अगस्त महिनामा रुसको पहिलो खोप ‘स्पुतनिक भी’ का बारेमा एउटा रिपोर्ट आएको थियो । जसअनुसार ‘स्पुतनिक भी’ खोप सुरुमा ३८ जनालाई दिइएको थियो । ती मध्ये ३१ जनामा १४४ प्रकारका खराब असरहरु देखिएका थिए ।

जसअनुसार शरीरको तापक्रम बढ्नु, ज्वरो आउनु, शरीर दुख्नु, टाउको दुख्नु, डायरिया, घाँटी सुन्निनु, भोक नलाग्ने र थकानको महसुस हुने जस्ता समस्याहरु देखिएका थिए । तर दोस्रो खोप ‘एपिभेककोरोना’ मा भने यस खालका कुनै पनि खराब असर नदेखिएको रुसी समाचार एजेन्सी तासले जनाएको छ ।

प्रतिक्रिया