काठमाडौं: नेपाली सांगितिक क्षेत्र विशेष गरी लोकदोहोरी गीतहरू प्रायः आलोचनाको केन्द्र बन्ने गर्छन्। केही कलाकारको कारणले गर्दा राम्रो सिर्जना गर्ने सर्जक र कलाकारहरू पनि ओझेलमा परेका छन्। तीज गीत पनि यस्तै आलोचना खेप्ने विधा हो। तीज गीतमा मौलिकता हराएको भन्दै आलोचना भइरहेका बेला जापानमा रहेका युवा सर्जक प्रेम सापकोटाले सबैलाई नतमस्तक पारेका छन्।
यो वर्ष सार्वजनिक भएका तीज गीतहरूमध्ये 'कालि पसमकी' गीत सम्भवतः सबैभन्दा धेरै प्रशंसा पाएको गीत बनेको छ। गीतले प्राप्त गरेको भ्यूजबाट पनि यो कुरा प्रष्ट देखिन्छ। गीत सार्वजनिक भएको दुई दिनमै टिकटकमा १ लाख भन्दा धेरैले रिल बनाएका छन् भने ४ लाख भन्दा धेरैले युट्युवमा हेरिसकेका छन्। यो समाचार तयार पार्दासम्म गीत उत्कृष्ट सूचीको दोस्रो नम्बरमा रहेको छ भने एक हजार भन्दा धेरैले गीतको बारेमा प्रतिक्रिया दिएका छन्। प्रतिक्रिया ९९ प्रतिशत सकारात्मक छन्।
गीतकार प्रेम सापकोटा सोनुको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा सापकोटाको शब्द तथा संगीत रहेको छ। शान्ती श्री परियारको गायकीलाई दर्शक स्रोताले खुलेर प्रशंसा गरेका छन्। शान्ती श्रीले गीतमा आफ्नो कोकीलकण्ठी आवाजमै अभिनय पनि दिएको आभाष हुन्छ। विनोद बाजुरालीले संगीत संयोजन गरेको गीतलाई खडक बाजुरालीले मिक्सिङ गरेका हुन्।
अडियो जस्तै गीतको भिडियो पनि उत्कृष्ट बनेको छ। गीतको निर्देशन तथा कोरियोग्राफी जेरी भण्डारीले गरेका छन् भने भिडियोमा स्मारिका ढकाल र जोन बम ठकुरीले अभिनय गरेका छन्। राजेश घिमिरेले छायांकन गरेको गीतको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका हुन्।
विवाहित महिलाले श्रीमानबाट भोगेको हिंसा र त्यसपछि निम्त्याउने समस्याहरूलाई गीतमा उतारिएको छ।