काठमाण्डौ । शुक्रवारबाट प्रदर्शनमा आएको साउथ सुपरस्टार अल्लू अर्जुन अभिनीत फिल्म ‘पुष्पा’ ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । हिन्दी डबमा समेत राम्रो कमाई गरिरहेको फिल्मले तमिल, तेलुगू, कन्नड र मलालयम भाषामा रेकर्ड ब्रेक व्यापार गरेको छ । प्रदर्शनको चार दिनमा फिल्मले भारतमा मात्र १ सय २० करोड भारुको कमाई गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
बक्सअफिस ट्रेक ह्यान्डल सिनेट्रेकका अनुसार, विश्व बक्सअफिसमा ‘पुष्पा’ ले तेस्रो स्थान बनाएको छ । भारतमा प्रदर्शनको चार दिनमा १ सय २० करोड छापेको फिल्मले अन्तर्राष्ट्रिय बजारमा २० करोड कमाएको सिनेट्रेकले उल्लेख गरेको छ । फिल्मले चार दिनमै विश्वभरबाट १ सय ४० करोड ७ लाख कमाएको छ । फिल्मले विदेशमा सबैभन्दा बढी नर्थ अमेरिकामा कमाई गरेको छ ।
रक्त चन्दन तस्करी कथामा निर्माण भएको फिल्मलाई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ । अल्लू अर्जुनको स्टाइल, एक्सन, ब्याकग्राउन्ड स्कोर, सिनेम्याटोग्राफीले फिल्मलाई बलियो बनाएको छ । सुकुमार निर्देशित फिल्ममा रश्मिका मन्दाना पनि मुख्य भूमिकामा छिन् । नेपालमा समेत फिल्मको कमाई आक्रामक छ । दुई भागमा बनेको फिल्मको दोस्रो पार्ट अर्को वर्ष आउने छ ।