सरकारले चालु आर्थिक वर्ष २०८१-८२ का लागि ल्याएको बजेटको खर्च अवस्था यस वर्ष पनि निराशाजनक देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको रिपोर्ट अनुसार, भदौ १५ गतेसम्म सरकारले कुल बजेटको मात्र ३.७३ प्रतिशत खर्च गरेको छ, जुन गत वर्षको यसै अवधिमा ३.८९ प्रतिशत थियो।
काठमाडौं-सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो, तर हालसम्म केवल ६९ अर्ब ३५ करोड ९८ लाख रुपैयाँ खर्च भएको छ। यो खर्च मुख्यत: वित्तीय व्यवस्थापन र चालुतर्फ भएको छ। पुँजीगत खर्च भने अझै कमजोर देखिएको छ, जसमा ३.१४ प्रतिशत मात्र खर्च भएको छ।
यद्यपि, राजस्व संकलनको अवस्थामा भने सुधार देखिएको छ। चालु आर्थिक वर्षको डेढ महिनामा सरकारले १ खर्ब १७ अर्ब ७६ करोड ६२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ, जुन निर्धारित लक्ष्यको ८.०३ प्रतिशत हो।
सरकारले आर्थिक वृद्धि र मुद्रास्फीतिलाई सीमित गर्ने लक्ष्य लिएको भए पनि, बजेट खर्च गर्ने शैलीले पुरानै परम्परालाई निरन्तरता दिएको देखिन्छ।