बङ्गलादेशकाे घटनाक्रमपछि नेपालमा पनि उच्च सुरक्षा निगरानी

काठमाण्डौ – बङ्गलादेशमा हालैका घटनाक्रमपछि नेपालमा सुरक्षा निगरानी कडा पारिएको छ। गृह मन्त्रालयको निर्देशनअनुसार, असम्बन्धित र विदेशी नागरिकको घुसपैठ तथा अवैध प्रवेश रोक्न सीमाक्षेत्र र अन्तर्राष्ट्रिय मार्गमा सुरक्षा व्यवस्था बलियो पारिएको छ।

केन्द्रीय सुरक्षा समिति बैठकको निर्देशनअनुसार, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले सुरक्षालाई मजबुद बनाउन जनशक्ति बढाउँदै उच्च सतर्कता अपनाएका छन्। प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले विदेशी नागरिकको अवैध प्रवेश रोक्न सुरक्षा निगरानी कडा बनाइएको बताए। विमानस्थल, देश भित्रिने र बाहिरिने नाकासहित विशेष गरी तराई र भारतीय सीमा क्षेत्रमा सुरक्षाकर्मीलाई चुस्त राख्न निर्देशन दिइएको छ।

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता, नायब महानिरीक्षक कुमार न्यौपानेले अन्य देशबाट मानिसको घुसपैठ रोक्न सीमा क्षेत्रमा जनशक्ति थपिएको र उच्च सतर्कता अपनाइएको जानकारी दिए।

बङ्गलादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाड्नुभएको छ।

प्रतिक्रिया