• गृहपृष्ठ /
  • Breaking News ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार ,
  • स्वास्थ्य

नेपाल–भारत सीमामा इन्धनको मूल्यअन्तर अहिलेसम्मकै उच्च, तस्करी हुने डर

नेपाल-भारत सीमामा इन्धनको मूल्य अन्तर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । सीमावर्ती भारतीय बजारभन्दा नेपालमा अहिले इन्धन प्रतिलिटर ४० रूपैयाँसम्म सस्तो रहेको आयल निगमले जनाएको छ ।

यो जुलाई ५ को मूल्यसूचीअनुसार हो ।

रक्सौलमा पेट्रोल १ सय ३४ नेपाली रुपैयाँ पर्छ भने डिजलको मूल्य १ सय २४ छ । वीरगञ्‍जमा पेट्रोल ९९ रुपैयाँ ५० पैसा र डिजेल ८५ रुपैयाँ ५० पैसामा पाइन्छ ।

पेट्रोल र डिजलको मूल्यअन्तर झापासँग सीमा जोडिएको सिलिगुढीमा क्रमशः ३६ र ३७ रुपैयाँ छ । विराटनगरको तुलनामा जोगबनीको मूल्य क्रमशः ४० र ४२ रुपैयाँ बढी छ, जलेश्वरको तुलनामा सीमावर्ती बजारमा ४० र ४१ रुपैयाँ महँगो छ ।

भैरहवाभन्दा सुनौलीमा ३६ र ३३ रुपैयाँ महँगो छ । पेट्रोल र डिजेलको मूल्य नेपालगन्जभन्दा रुपैडिहामा ३६ र ३३ रुपैयाँ बढी छ र धनगढीभन्दा पलियामा ३६ र ३३ रुपैयाँ बढी पर्छ । लकडाउन खुकुलो हुँदै जाँदा भारतभन्दा नेपालमा तेलको मूल्य सस्तो हुँदा चोरी निकासी हुने, सवारीसाधन आएर इन्धन भरेर जाने जोखिम बढेको छ ।
नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्याय वर्तमान सीमा मूल्य अन्तर हालसम्मकै उच्च रहेको बताउँछन् । बाह्रखरीसँगको कुराकानीमा उनले भने, “लकडाउन अघिसम्म सीमाको मूल्य अन्तर २० रूपैयाँभन्दा कम थियो । अहिलेसम्म त्यति पनि पुगेको थिएन ।”

मेसम्म पनि सीमाको मूल्यअन्तर ३० रूपैयाँभन्दा उकालो लागेको थिएन । अहिले लकडाउन खुल्दै गएको र मूल्य अन्तर बढ्दै गएका कारण सीमामा इन्धन तस्करी हुने डर बढेको उनले सुनाए ।

यसरी मूल्य अन्तर बढ्दा नेपाली पम्पमा भीड बढ्ने, मूल्य कम भए नेपालीले नपाउने सम्भावना बढेर जानसक्ने उनको जिकिर छ । भारतभन्दा सस्तो हुँदा चोरी निकासी हुने गरेको छ भने भारतीय सवारीसाधन नेपाल आएर इन्धन भरेर जाने गर्छन् । तर लकडाउनको समयमा भने पहिलाभन्दा कम सवारीसाधन आवतजावत गरेका छन् ।

भारतभन्दा सस्तो मूल्य पर्ने भएकोले चोरी निकासी हुने र त्यसलाई नियन्त्रण गर्न बल नै परिचालन गर्नुपर्ने अवस्था देखिएको उनको भनाइ छ । सरकारले सीमावर्ती मूल्य अन्तर कम गर्न पटकपटक इन्धनको मूल्यमा कर तथा शूल्क थप गर्दै आएको बताएको छ । सीमा मूल्यअन्तर कम गर्न भन्दै सरकारले दुईपल्ट कर बढाएको छ । सरकारले मन्त्रिपरिषद् बैठक तथा बजेटमार्फत् इन्धनमा कर बढाएको थियो ।

फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले इन्धनमा लाग्ने पूर्वाधार कर प्रतिलिटर ५ रुपैयाँबाट बढाएर १० रुपैयाँ बनाएको थियो भने गत जेठ १५ गते अर्थमन्त्री युवराज खतिवडाले बजेटमार्फत् हवाइ इन्धन र एलपी ग्यासबाहेक पेट्रोलियम पदार्थमा लाग्ने भन्सार दर १० रुपैयाँले बढाएका थिए ।

इन्धनमा संसारमै सर्वाधिक कर भने भारतले लगाउने गरेको छ । भारतले पेट्रोल र डिजलमा प्रतिलिटर भारु ५० (नेपाली रुपैयाँ ८०) सम्म कर लगाउने गरेको छ । नेपालमा पनि ५३ रुपैयाँ कर छ । खुला सिमानाका कारण सीमा वारिपारि मूल्य फरक भएमा व्यापार विचलन हुने डर सरकारको थियो । सोहीकारण पूर्वाधार कर बढाइएको सरकारको प्रतिक्रिया छ ।

त्यसबेला नै सीमावर्ती भारतमाभन्दा नेपालमा पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर करिब १६ रुपैयाँ र १५ रुपैयाँ सस्तो भए पनि मूल्य नबढाइएको निगम बताउँछ । चैतको २ गते पेट्रोल २ रुपैयाँले सस्तियो भने लकडाउन सुरु भएको केही दिनमै प्रतिलिटर १० रुपैयाँ सस्तो भयो । सीमाको मूल्यअन्तर कम गर्ने भन्दै अर्थमन्त्री बजेटमार्फत् फेरि भन्सार महसुल बढाए ।

सीमावर्ती मूल्य अन्तर १० रुपैयाँ कम गर्न भन्सार शुल्कमा १० रुपैयाँ बढाइयो । तर, निगमले सोअनुसार बिक्री मूल्य समायोजन गरेन । त्यसो नगर्नुको प्रभाव यतिखेर सीमाको मूल्यअन्तरमा देखिएको छ । जुन ६ तारिखदेखि भारतीय बजारमा तेलको मूल्य बढ्दा सीमाअन्तर झनै फराकिलो बनेको निगमले जानकारी गराएको छ ।

जुन ६ मा रक्सौलभन्दा नेपालमा पेट्रोल र डिजल क्रमशः २८ र २७ रुपैयाँ सस्तोमा पाइन्थ्यो । त्यो अन्तर जुन ३० मा क्रमशः ३९ र साढे ४० रुपैयाँ पुग्यो । जुलाई १ तारिखदेखि नेपालमा इन्धनको मूल्य बढ्यो । भारतमा भने यथावत हुँदा अन्तर नेपालमा बढेको मूल्यअनुसार सीमाअन्तर कम भएको छ ।

तेल धेरै बिक्री भए व्यवसायी र आयल निगमलाई फाइदा हुने र सरकारलाई पनि राजस्व संकलनमा सहजता हुने भए पनि भारतीय सवारी नेपाल आएर इन्धन भरिदिँदा धेरै बेफाइदा हुने निगमको भनाइ छ ।

निगमका प्रवक्ता उपाध्याय भन्छन्, “सीमामा सस्तो हुनुका धेरै बेफाइदा छन् । नेपाली प्रयोजनका लागि आयात भएको तेल भारतीयले प्रयोग गर्नाले अनावश्यक अधिक आयात हुन्छ जसको चाप विदेशी मुद्रा सञ्चितिमा पर्न जान्छ । मूल्य अन्तर बढी हुनाले भारतीयले लाभ उठाउँदा नेपाली नै सुविधाबाट बञ्चित हुन्छन् । ग्राफमा भने खपत अस्वाभाविकरूपले बढेको देखिन्छ ।”

प्रतिक्रिया