• गृहपृष्ठ /
  • समाचार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • सहकारी

प्रविधिमा जोडिँदा सहकारीको गुणात्मक विकास हुन्छ—सहअध्यक्ष पौडेल

काठमाडौं—राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारी संस्थाहरु प्रविधिमा जोडिनुपर्ने बताएका छन् । कोभिड—१९को कारण भौतिक रुपमा उपस्थित भएर सेवा लिँदा संक्रमण फैलिन सक्नेतर्फ चिन्ता व्यक्त गर्दै प्रविधिको प्रयोग गरेर सदस्यलाई सेवा दिनुपर्ने बताएका हुन् ।

९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिवार शुभकामना सन्देश दिँदै सहअध्यक्ष पौडेलले सहकारी संस्थाहरु प्रविधिमा जोडिएर सदस्यलाई प्रविधिमैत्री सेवा दिए सहकारी क्षेत्रले गुणात्मक फड्को मार्ने बताए । हरेक वर्ष जुलाई पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउँदै आइएको छ । शनिवार ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका साथै २७ औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको छ ।

पौडेलले जारी गरेको शुभकामना सन्देशमा सहकारीलाई समयसापेक्ष प्रविधि मैत्री बनाउँदै सदस्यलाई छिटो, छरितो र प्रभावकारी सेवा दिनुपर्नेमा जोड दिए । प्रतिस्पर्धी अर्थतन्त्रमा सहकारी संस्थालाई सवल, सक्षम, पारदर्शी र प्रतिस्पर्धी वित्तीय संस्थाको रुपमा विकास गर्न आग्रह गर्दै सहअध्यक्ष पौडेलले सहकारी संस्थामा सरल र सुलभ रुपमा प्रविधि सेवा विस्तार राज्यले सघाउनु पर्नेमा जोड दिएका छन् । 

सहकारी ऐन, नियमावली, सहकारीको प्रस्तावित २५ वर्षे दीर्घकालीन रणनीतिले सहकारीमा प्रविधिलाई प्रयोगमा ल्याउन प्रोत्साहित गरेको पौडेलद्वारा जारी गरेको सन्देशमा उल्लेख छ ।

मुलुकभर २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्था छन् । ती सहकारीमा ७३ लाख भन्दा बढी सदस्य आवद्ध छन् । संविधानले सहकारी क्षेत्रलाई तोकेको जिम्मेवारी, सहकारीको सिद्धान्त, मूल्य, मान्यता, मर्म र भावना अनुसार चल्न सहकारी दिवसले सबै सहकारीकर्मीलाई प्रेरणा प्रदान गर्नेमा सहअध्यक्ष पौडेलले विश्वास व्यक्त गरेका छन् ।

‘संविधानको मर्म अनुरुप सहकारीले समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणमा सघाउनु पर्छ,’ सहअध्यक्ष पौडेलको शुभकामना सन्देशमा उल्लेख छ ।

सहकारीले मुलुकको गरिबी न्यूनीकरण गर्दै मुलुकको आर्थिक सम्वृद्धिको सारथी बन्न सक्ने बताउँदै सहकारीमा जम्मा भएको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा परिचलान गरेर सार्थकता दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया