१० लाखको पिसिआर परीक्षण गरिने

सरकारले आगामी कात्तिकसम्ममा ६ देखि १० लाख मानिसको पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमित संख्या बढ्दै गएपछि परीक्षणको दायरा फराकिलो बनाउन भन्दै धेरैभन्दा धेरैको नमुना संकलन गरेर पिसिआर विधिबाट कोरोना परीक्षण गर्न लागेको हो। आगामी १५ असारदेखि दैनिक १० हजारको पिसिआर परीक्षण गर्ने गरि हाल मन्त्रालयले थप ६ लाख पिसिआर किट खरिदको लागि मन्त्रालयले प्रकृया अगाडि बढाएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए। उनका अनुसार फेरि ६ लाख पिसिआर किट खरिदको लागि खरिद कम्पनीसँग सम्झौताको प्रक्रियासमेत अघि बढाएको बताए। यसका साथै विभिन्न दातृ निकायले सहयोगस्वरूप दिने किटहरूले समेत परीक्षणमा सहयोग पुग्ने उनले बताए। उनले भने, ‘संक्रमितको संख्या बढ्दै जाँदा परीक्षणको दायरा पनि बढाउँदै लानुपर्छ त्यसैले हामीले दैनिकरूपमा अझै धेरै परीक्षण गर्ने गरी तयारी अगाडि बढाएका हौँ त्यसको लागि हामीले थप पिसिआर किट खरिद गर्ने प्रक्रियासमेत अगाडि बढाएका छौँ।‘कोरोना संक्रमितको पहिचान गर्नकै लागि परीक्षणको दायरा फराकिलो बनाउन लागिएको समेत उनले बताए।

नेपालको पहिलो केस पहिचान गर्न विदेश पठाएको सरकारले हाल उपत्यकासहित देशका २२ वटा स्थानबाट पिसिआर परीक्षण गर्दै आएको छ। सरकारको पछिल्लो विवरणअनुसार कुल संक्रमितको संख्या ७ हजार एक सय ७७ पुगेको छ। ​हालसम्म पिसिआर विधिबाट १ लाख ४९ हजार ७ सय ७२ र पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको कोरोना परीक्षण भएको छ। यस्तै आरडिटी विधिबाट २ लाख ३३ हजार ५ सय ४३ र पछिल्लो २४ घण्टामा १० हजार २४ परीक्षण भएको छ। अहिले देशभरका क्वारेन्टाइनमा १ लाख २५ हजार ७ सय ९८ जना रहेका छन्। ५ हजार ९ सय ९० जना विभिन्‍न अस्पतालका आइसोलेशनमा उपचाररत रहेका छन्। बुधबारसम्म १ हजार १ सय ६७ कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

प्रतिक्रिया