काठमाडौँ । बागलुङमा जन्मिएका र नेपाली सांगीतिक क्षेत्रमा राम्रो चर्चा कमाउन सफल सर्जक तथा गायक तेजश रेग्मी अग्रस्थानमा आउँछन्। गायन, रचना, र अभिनयका तिनै पक्षमा अब्बल मानिने रेग्मी प्रायः आफ्ना सिर्जनाले दर्शक-श्रोतालाई नचाउने गीत प्रस्तुत गर्दै आएका छन्।
तर, भर्खरै सार्वजनिक गरिएको उनको नयाँ गीत 'ढुंगे छपनी' बाट दर्शक-श्रोताहरूले उनले सांगीतिक धार परिवर्तन गरेको हो कि भन्ने प्रश्न उठाएका छन्। यस विषयमा आर्थिक सन्देश सँग कुरा गर्दै रेग्मीले समयक्रमअनुसार सबै विधाका गीतहरू सार्वजनिक गर्दै जाने बताएका छन्।
उनको पछिल्लो गीतमा माया-प्रेममा विछोड भोगेका मायालुहरूको कथालाई शब्द, संगीत, र भिडियोमार्फत प्रस्ट पार्न खोजिएको छ। गीतका लय र शब्द रेग्मीले आफैँ सिर्जना गरेका हुन् भने आवाजमा उनलाई देवी घर्तीले साथ दिएकी छन्।
कमल सौरागको संगीत संयोजन रहेको यस गीतको निर्देशन विशाल घिमिरेले गरेका छन्। म्युजिक भिडियोमा तेजश रेग्मी, शिशिर पौडेल, र जुना कार्कीले अभिनय गरेका छन्।